झापामा अमरेशको दौडधुप, घण्टैपिच्छे भेटघाटको कार्यक्रम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह शुक्रबार झापा पुगेका छन्। सर्लाही–४ का सांसद सिंह दिनभर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफलमा व्यस्त हुने कार्यक्रम छ।
सार्वजनिक गरिएको कार्यक्रम तालिकाअनुसार उनले बिहान ९ बजे मेचीनगरस्थित झापा–१ को पार्टी सचिवालयमा भेटघाट गरेका छन्। त्यसपछि बिहान ११ बजे भद्रपुर पुग्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी दिउँसो साढे १२ बजे राजगढ, २ बजे झापा बजार र साढे ३ बजे गौरीगञ्जमा पार्टीका विभिन्न समिति तथा स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ।
सिंहको झापा भ्रमणमा पार्टी संगठनसँग सम्बन्धित विषय तथा स्थानीय तहका राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ।
सिंहले केही दिनअघि झापाको भद्रपुरबाट मेची–महाकाली पैदलयात्रा सुरु गर्ने घोषणा गरेका थिए। जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या सुन्ने उद्देश्यले यात्रा गर्ने उनको भनाइ थियो।
हालै सिंहले रास्वपाभित्र कुनै अन्तरविरोध नरहेको दाबी गर्दै सत्तापक्षमा रहे पनि जनताका मुद्दा संसद्मा उठाउनु आफ्नो जिम्मेवारी भएको बताएका थिए।
