व्यवस्था बदल्दै आएको कांग्रेस अब आफैँ बदलिने मोडमा
काठमाडौं । नेपाली कांग्रेसको स्थापना नेपालको राजनीतिक इतिहासमा राणा शासनविरुद्धको संघर्षसँग जोडिएको छ ।
निरंकुश राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले संघर्षरत राजनीतिक शक्तिहरूबीचको एकताबाट कांग्रेसको जन्म भएको हो ।
कांग्रेसको इतिहासबारे जानकार डा. जगत नेपालका अनुसार नेपाली कांग्रेस स्थापना हुनुअघि नेपालमा राणा शासनविरुद्ध विभिन्न राजनीतिक समूहले अलग–अलग रूपमा आन्दोलन गरिरहेका थिए । ती शक्तिहरूलाई एउटै राजनीतिक धारमा ल्याउने प्रयासस्वरूप कांग्रेसको आधार तयार भएको थियो ।
नेपालमा प्रजातन्त्रका लागि संगठित राजनीतिक आन्दोलनको आवश्यकता महसुस भइरहेका बेला २००३ सालमा भारतको बनारसमा नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो । यसले राणा शासनविरुद्ध राजनीतिक तथा संगठित आन्दोलन अघि बढायो ।
त्यसैगरी, सुवर्णशमशेर राणाको नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेस गठन भएको थियो । यी दुवै राजनीतिक संगठनको मुख्य उद्देश्य राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्नु थियो ।
दुई संगठनले छुट्टाछुट्टै रूपमा संघर्ष गरिरहेका बेला राणा शासनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउन एकता आवश्यक रहेको महसुस भयो । त्यसपछि २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भयो ।
यही एकताबाट नेपाली कांग्रेसको औपचारिक स्थापना भयो । बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंहलगायतका नेताहरू कांग्रेसको प्रारम्भिक नेतृत्वमा थिए ।
कांग्रेस स्थापनाको मुख्य राजनीतिक उद्देश्य राणा शासन अन्त्य गर्नु र नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नु थियो । पार्टी गठनसँगै राणा शासनविरुद्धको आन्दोलन थप संगठित बन्दै गयो ।
कांग्रेस स्थापना भएको केही समयमै २००७ सालको जनक्रान्ति भयो । कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र तथा राजनीतिक आन्दोलन अघि बढायो । आन्दोलनको दबाब बढ्दै गएपछि राणा शासन अन्त्य भयो । २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भयो ।
त्यसपछि कांग्रेसले मुलुकको संसदीय राजनीतिमा सक्रिय भूमिका खेल्यो । २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्यो । बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।
तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गर्दै पञ्चायती व्यवस्था सुरु गरेपछि कांग्रेस पुनः संघर्षमा फर्कियो । त्यसपछि लामो समयसम्म कांग्रेसले पञ्चायतविरुद्ध आन्दोलन गर्यो ।
२०४६ सालको जनआन्दोलनमार्फत बहुदलीय व्यवस्था पुनःस्थापित भयो । त्यसपछि २०६२/६३ को जनआन्दोलन हुँदै मुलुक गणतन्त्रतर्फ अघि बढ्यो । २०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो ।
यसरी राणा शासनविरुद्ध प्रजातन्त्रका लागि सुरु भएको राजनीतिक एकताबाट जन्मिएको कांग्रेसले नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा भूमिका निर्वाह गर्दै आएको छ ।
डा. नेपालका अनुसार कांग्रेसको स्थापना आफैँमा राजनीतिक एकताको परिणाम थियो । ‘राणा शासनविरुद्ध संघर्ष गरिरहेका शक्तिहरूबीचको एकताबाट कांग्रेस बनेको हो । त्यसैले कांग्रेसको स्थापना नै राजनीतिक परिवर्तनको अभियानसँग जोडिएको छ,’ उनले भने ।
