बालेनको टिप्पणीपछि ज्ञानेन्द्र शाहीको जवाफ – ‘पृथ्वीनारायण शाहले नेपाल नबनाएको भए…’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को व्यङ्ग्यात्मक टिप्पणीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
शाहीले पृथ्वीनारायण शाहलाई स्मरण गर्दै नेपाल निर्माण भएकै कारण नेपालीले प्रधानमन्त्री र मन्त्री बन्न पाएको तथा विश्वको जुनसुकै कुनामा पुगेर गर्वका साथ नेपाली भन्न पाएको बताएका छन्।
उनले लेखेका छन्, ‘धन्न श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री, कोही मन्त्री हुँ भन्न पाएका छौँ; संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ ‘म नेपाली हुँ’ भन्न पाएका छौँ।’
यसअघि प्रधानमन्त्री बालेनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा भएको आलोचनालाई लिएर ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका थिए। त्यसपछि उनको टिप्पणीलाई लिएर विभिन्न राजनीतिक नेताहरूले प्रतिक्रिया जनाएका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका थिए – धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्
