एमाले छाड्नु राजनीतिक जीवनकै ठूलो भूल थियो भन्दै बोले झलनाथ
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा (एमाले) छाड्नु आफ्नो राजनीतिक जीवनकै ठूलो भूल भएको बताएका छन्। ‘नागरिक फ्रन्टलाइन’सँगको कुराकानीमा खनालले आफू भारतमा उपचाररत रहेका बेला प्राप्त गलत सूचनाका कारण एमाले विभाजनको पक्षमा लागेको बताएका हुन्।
खनालका अनुसार आफू उपचारका क्रममा भारतमा रहेका बेला पार्टीभित्रको अवस्थाबारे पूर्ण जानकारी नहुँदा एमाले विभाजनको पक्षमा उभिन पुगेका थिए। स्वास्थ्यलाभपछि नेपाल फर्किएर पार्टीभित्र १० बुँदे सहमति भइसकेको जानकारी पाएपछि आफू स्तब्ध भएको उनले बताए।
आफ्नो लामो राजनीतिक जीवनमा रगत र पसिना बगाएर निर्माण गरेको पार्टी छाड्दा देशभरका एमाले कार्यकर्ताको मन दुखेको पनि खनालले स्वीकार गरेका छन्। पार्टी विभाजनको निर्णयले आफूलाई समेत पछुतो भएको उनको भनाइ छ।
खनालले एमाले विभाजनले तत्कालीन अवस्थामा पार्टी र समग्र कम्युनिस्ट आन्दोलनमा असर परेको दाबी गरे। उनका अनुसार विभाजनका कारण कम्युनिस्ट आन्दोलन कमजोर हुनुका साथै लामो समयदेखि पार्टी निर्माणमा योगदान दिएका नेता तथा कार्यकर्ताबीच समेत दूरी बढेको थियो।
