`

मस्क–अम्बानीको पानी बाराबार, के हो लफडा?

Nepal One HD २५ असोज २०८३ १६:४६
विज्ञान-प्रविधि

काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी छन्, तर अमेरिकी अर्बपति एलन मस्कले भने मुकेश अम्बानीलाई नै ‘प्रधानमन्त्री’ बनाइदिएका छन् ! त्यो पनि व्यङ्ग्य गरेर । भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक भित्र्याउन अनुमति प्रक्रियामा ढिलाइ भएपछि मस्कले अम्बानीमाथि यस्तो कटाक्ष गरेका हुन् ।

मस्कले सामाजिक सञ्जाल एक्समा लेखे, ‘प्रिय प्रधानमन्त्री अम्बानी, तपाईं नै भारतको वास्तविक मालिक हुनुहुन्छ भन्ने कुरा बुझ्न नसकेकोमा मेरो विनम्र क्षमायाचना ।’ त्यसपछि उनले भारतीय जनतालाई एकाधिकारको चंगुलमा राखिरहन चाहेको आशय व्यक्त गर्दै स्टारलिंकलाई पनि प्रतिस्पर्धा गर्न दिन आग्रह गरे ।

लफडा के हो?

भारतको इन्टरनेट बजारमा अम्बानीको रिलायन्स जियो बलियो खेलाडी हो । मोबाइल डेटा र दूरसञ्चार क्षेत्रमा ठूलो उपस्थिति बनाएको जियोको बजारमा अब मस्कको स्टारलिंक प्रवेश गर्न खोज्दैछ । फरक यति हो—जियोले मुख्यतः मोबाइल नेटवर्कमार्फत सेवा दिन्छ भने स्टारलिंकले उपग्रहको सहायताले इन्टरनेट पुर्‍याउँछ । विशेषगरी दुर्गम क्षेत्रमा यस्तो सेवा उपयोगी हुन सक्छ ।

तर भारतमा स्टारलिंकले व्यावसायिक सेवा सुरु गर्न सरकारी अनुमति र सुरक्षा मूल्यांकनलगायतका प्रक्रिया पूरा गर्नुपर्छ । यही प्रक्रिया लम्बिएको भन्दै मस्कले असन्तुष्टि पोखेका हुन् । उनको कटाक्षको निशाना अम्बानीको आर्थिक प्रभाव र भारतको इन्टरनेट बजारमा स्थापित कम्पनीहरूको दबदबातर्फ देखिन्छ ।

मस्कको दाबी छ,स्टारलिंकलाई अनुमति दिए दुर्गम क्षेत्रका बालबालिकाले शिक्षामा पहुँच पाउनेछन्, साना व्यवसाय विश्व बजारसँग जोडिन सक्नेछन् र प्राकृतिक विपत्तिका बेला सञ्चार सुविधा उपयोगी हुनेछ । तर सेवा विस्तारको यो तर्कसँगै भारतको ठूलो बजारमा आफ्नो कम्पनीलाई प्रवेश गराउने व्यावसायिक स्वार्थ पनि जोडिएको छ ।

भारत सरकारले भने स्याटेलाइट इन्टरनेट सेवाको अनुमति प्रक्रिया निष्पक्ष र भेदभावरहित रहेको बताउँदै आएको छ । सुरक्षा मूल्यांकन र आवश्यक सर्त पूरा नगरी कुनै पनि कम्पनीले सेवा सञ्चालन गर्न पाउँदैन । स्टारलिंकको अनुमति ढिलाइ हुनुमा अम्बानीकै हात छ भन्ने मस्कको कटाक्षबाट मात्रै प्रमाणित हुँदैन ।

तर मस्कले अम्बानीलाई ‘प्रधानमन्त्री’ किन भने त ? भारतको संविधानले होइन, व्यङ्ग्यले ! आर्थिक शक्तिको प्रभाव कति ठूलो छ भन्ने प्रश्न उठाउँदै उनले अम्बानीलाई देशकै वास्तविक मालिकजस्तो चित्रण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *