‘कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ! तर म ढल्दिनँ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन् ।
बाहिरका विरोधीभन्दा आफ्नै नजिकका भनिएका व्यक्तिबाट धोका पाएको संकेत गर्दै उनले जति प्रहार भए पनि आफू नढल्ने उद्घोष गरेका छन् ।
पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सहकर्मीको व्यवहारप्रति असन्तुष्टि पोखे । ‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, अनि ग्याम्म छुरी हान्छ,’ उनले भने, ‘कता जोगिने, कता नजोगिने ?’
आफूलाई कमजोर ठानेर ढाल्ने सपना देख्नेहरूलाई चुनौती दिँदै ओलीले भीष्म पिताको प्रसंगसमेत जोडे । ‘भीष्म पिता जति म त्यति बूढो भएको छैन, ढल्दिनँ । जति हाने पनि ढल्दिनँ,’ उनको भनाइ थियो ।
ओलीले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानमा लागेको बताए । त्यसक्रममा जेल जीवन बिताउनुपरेको र विभिन्न आरोप तथा मुद्दाको सामना गर्नुपरेको उल्लेख गर्दै उनले आफू संघर्षबाट पछि नहटेको सन्देश दिए ।
‘म मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन,’ ओलीले भने, ‘लडिन्छ यो देशका लागि । मलाई चिन्ता छैन, किनभने मैले आफ्नो लागि काम गरेको होइन, सधैँ देश र जनताका लागि काम गरेको छु ।’
ओलीका अभिव्यक्तिले एमालेभित्रको असन्तुष्टि र नेतृत्वमाथिको दबाबलाई संकेत गरेका छन् ।
आफ्नै सहयात्रीबाट धोका भएको उनको टिप्पणीले पार्टीभित्रको शक्ति संघर्षबारे थप चासो बढाएको छ । तर उनले ‘छुरी हान्ने’ भनेर कसलाई लक्षित गरेका हुन् भन्ने कुरा सम्बोधनमा स्पष्ट पारेका छैनन् ।
