`

लोक दोहोरी स्टारको टप-२४ मा सञ्चपाल राई, निर्णायकले गरे प्रशंसा, मागे राईले भोट

Nepal One HD २६ असोज २०८३ ९:१९
मनोरञ्जन

काठमाडौं । गायक सञ्चपाल राई लोक दोहोरी स्टार सिजन-२ को टप २४ मा प्रवेश गरेका छन् । ग्रान्ड प्रिमियरमा चर्चित लोकगीत ‘आलुदम चना’ गाएका उनले निर्णायकहरूको प्रशंसा पाएका छन् । अघिल्लो चरणमा पुग्न उनले देशविदेशमा रहेका नेपालीसँग भोट मागेका छन् ।

राईले पूर्वेली लोकगायनका शिखर व्यक्तित्व शम्भु राईको स्वर रहेको चर्चित गीत ‘आलुदम चना’ गाएका थिए । उनको प्रस्तुतिमा गायनसँगै हाउभाउ र नृत्य पनि समेटिएको थियो ।

निर्णायक कोमल वलीले राईको प्रस्तुतिमा पहिलेको तुलनामा सुधार आएको बताइन् । उनले गायकी, हाउभाउ र नृत्यको प्रशंसा गर्दै स्वरमा स्थिरता कायम गर्न सुझाव दिइन् ।

‘वाउ धेरै परिवर्तन । पहिलेको भन्दा सञ्चपालजी तपाईंको उपस्थिति त राम्रो छ नै । हाउभाउ, नाचगान वा । धेरै प्रभावित भएँ म त । तर, अलिकति स्वरमा स्थिरता चाहिन्छ,’ वलीले भनिन् ।

उनले राईको आत्मविश्वासको पनि प्रशंसा गर्दै ‘स्याबास’ भनेकी थिइन् ।

अर्का निर्णायक चन्द्रप्रसाद शर्माले राईको प्रस्तुतिमा आत्मविश्वास र सुधार देखिएको बताए । उनले मेला-महोत्सवमा गाएजस्तै आत्मविश्वासका साथ प्रस्तुत भएको भन्दै आगामी चरणमा अझ राम्रो गर्न सुझाव दिए ।

त्यस्तै, निर्णायक राजु परियारले पनि राईको गायन र प्रस्तुतिको प्रशंसा गरे । उनले स्वरको मूल्याङ्कन दर्शक तथा स्रोताले समेत गर्ने उल्लेख गर्दै थप सफलताको शुभकामना दिए ।

टप २४ मा पुगेपछि राईले आफ्नो गायन यात्रालाई अघि बढाउन दर्शकको साथ खोजेका छन् । उनले देश तथा विदेशमा रहेका नेपालीलाई भोट गर्न आग्रह गरेका हुन् ।

‘देश विदेशमा रहनु हुने आमाबुबा, दिदीबहिनी आफ्ना आफन्त साथीभाइ र सङ्गितप्रेमी महानुभावहरू, मेरो गायन यात्रामा साथ दिनु हुने सम्पूर्णमा हार्दिक अनुरोध छ । तपाईंहरूको अमूल्य भोट र माया नै मेरो हौसला हो,’ उनले भने, ‘मलाई भोट गरेर साथ दिनुहोला ।’

ताप्लेजुङका राई ७० को दशकतिर पाँचथरमा आयोजित याङनाम तारा भएका थिए । अहिले लोक दोहोरी स्टार सिजन–२ मा टप २४ सम्मको यात्रा तय गरेका उनी थप अघि बढ्न दर्शकको मतको प्रतीक्षामा छन् ।

उनलाई AVENTOJ APP वा ESEWA APP वा AVENTOJ.COM गएर लोक दोहोरी स्टार सिजन-२ छनोट गरी भोट दिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *