`

भीमफेदी दुर्घटना : माग सम्बोधनको सर्तमा शव परीक्षण गर्न सहमति

Nepal One HD २८ कार्तिक २०८३ १५:५०
समाचार

मकवानपुर । भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्ति तथा अन्य माग सात दिनभित्र सम्बोधन गर्नुपर्ने सर्तसहित शव परीक्षणका लागि सहमति दिएका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग भएको छलफलपछि मृतकका परिवार शव परीक्षण गर्न तयार भएका हुन्।

मृतकका आफन्तसहित मधेस प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव र सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव छलफलमा सहभागी थिए।

छलफलका क्रममा मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिनुपर्ने, दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मेवारी लिनुपर्ने तथा मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखिएको थियो।

मृतक पक्षका माग छानबिन समितिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याएर सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता आएपछि शव परीक्षणको बाटो खुलेको हो।

सहमतिपछि आफन्तले शव परीक्षणका लागि अनुमति दिएका छन्। परीक्षण प्रक्रिया पूरा भएपछि शव बुझेर घर लैजाने तयारी गरिएको छ।

यसअघि क्षतिपूर्तिलगायत माग पूरा नभएसम्म शव परीक्षण र शव बुझ्ने प्रक्रिया अघि नबढाउने अडानमा मृतकका परिवार थिए। दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालकको शव यसअघि नै परिवारले बुझिसकेको थियो। बाँकी १३ जनाको शव हेटौँडा अस्पतालमा राखिएको थियो।

घटनाको वास्तविक कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

गत बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस दुर्घटनामा परेको थियो।

दुर्घटनामा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *