`

युक्रेन वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपलाई काल्लासको चेतावनी

Nepal One HD २८ कार्तिक २०८३ २०:५४
प्रमुख खबर

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) की विदेश नीति प्रमुख काजा काल्लासले युक्रेन युद्ध अन्त्यका लागि हुने वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपेली देशहरूलाई चेतावनी दिएकी छन् । उनले सुरक्षा व्यवस्थासम्बन्धी विषयमा छलफल गर्नुअघि युद्धविराम कायम गर्नुपर्नेमा जोड दिएकी छन् ।

डब्लिनमा आयोजित ईयू शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै काल्लासले रुसले उठाएका सुरक्षा संरचनासम्बन्धी विषयमा छलफल गर्दा युद्धविरामको मुख्य मुद्दा ओझेलमा पर्न सक्ने बताइन् ।

‘सबैभन्दा पहिले हामीलाई युद्धविराम चाहिएको छ । यदि हामीले रुसले उठाएका सुरक्षा संरचनासम्बन्धी विषयमा छलफल गर्न थाल्यौँ भने रुसले थापेको पासोमा पर्नेछौँ । यसले युद्धविराम नभएको मुख्य विषयबाट ध्यान अन्यत्र मोड्नेछ,’ उनले भनिन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि अमेरिकी प्रतिनिधिहरूले बिहीबार भविष्यका वार्तामा युरोपलाई पनि सहभागी गराउने बताएका थिए । तर, क्रेमलिनले यसबारे कुनै निर्णय नभएको जनाएपछि योजनामा अन्योल देखिएको छ ।

युरोपले लामो समयदेखि शान्ति वार्तामा आफ्नो सहभागिताका लागि जोड दिँदै आएको छ । अमेरिकी प्रतिनिधि तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले युरोपलाई वार्तामा सहभागी गराउँदा युद्धपछिको युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गर्न सहज हुने बताएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि शान्ति वार्तामा युरोपको सहभागिता आवश्यक रहेको बताएकी छन् । यसले युरोपको हित संरक्षण गर्नुका साथै युक्रेनलाई सहयोग पुग्ने उनको भनाइ छ ।

यसैबीच, वार्तामा युरोपको प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा ईयूका नेताहरूले डब्लिनमा छलफल गर्ने तयारी गरेका छन् । आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले आगामी एक वा दुई साताभित्र यसबारे निर्णय हुनुपर्ने बताएका छन् ।

यसअघि अबु धाबीमा भएको वार्तामा बेलायत, फ्रान्स र जर्मनीका अधिकारी तथा ईयूका प्रतिनिधि सहभागी भएका थिए । जर्मन चान्सलर फ्रेडरिक मेर्जलगायत नेताहरूले पनि संयुक्त प्रतिनिधित्वको संरचनालाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

काल्लासले भने प्रतिनिधि छनोटमा अल्झिनुभन्दा युद्धविरामको मुख्य उद्देश्यमा केन्द्रित हुन युरोपलाई आग्रह गरेकी छन् । रुसले आफूलाई वार्तामा नचाहेको थाहा भए पनि युरोपको प्रतिनिधि कसले हुने भन्ने निर्णय गर्ने अधिकार रुससँग नरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *