सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
सुनसरी । आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको थियो ।
छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका अवसरमा यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी पूजाका लागि फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ ।
रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीनचार दिनमै रु तीन लाखभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताए । उनले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरेर ल्याई बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले पहाडी क्षेत्र तथा भारतबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए ।
अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यसको माग बढ्ने गरेको बताए। छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत बनेको उनको भनाइ छ । तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उनले बताए। आफैँले सामग्री बनाउन नसकिने भएकाले भारतबाट खरिद गरेर ल्याई झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उनले जानकारी दिए ।
यसैबीच, आज मनाइने छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने यस पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका छन् ।
सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला, सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ र सजावट गरिएको छ। पूजास्थलमा दीप, रङ्गोली तथा बत्तीको व्यवस्था मिलाइएको छ ।
सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत जिल्लाका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने गरिन्छ ।
