`

कोप-३१ मा सहमति जुटाउन वार्ताकारलाई साइमन स्टिलको दबाब

Nepal One HD ३० कार्तिक २०८३ ११:५०
विश्व
एजेन्सी। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु संकटविरुद्धको विश्वव्यापी अभियानलाई परिणाममुखी बनाउन वार्ताकारहरूलाई तत्काल निर्णयमा पुग्न आग्रह गरेका छन्।
टर्कीको तटीय सहर अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३१) निर्णायक चरणमा प्रवेश गर्न लाग्दा उनले बाँकी समय खेर नफाल्न सबै राष्ट्रलाई सचेत गराएका हुन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा स्टिलले विवादित विषयलाई थाती राखेर समय बिताउने प्रवृत्ति त्याग्न आग्रह गरे। उनका अनुसार सम्मेलनको बाँकी अवधिमा जटिल मुद्दाहरूमा गम्भीर छलफल गरी सहमतिका लागि आवश्यक पहल गर्नुपर्छ। रणनीतिक रूपमा निर्णय लम्ब्याउँदा जलवायु परिवर्तनविरुद्धका साझा प्रयास कमजोर हुने उनको चेतावनी थियो।

उनले अन्तर्राष्ट्रिय सहमति निर्माणका लागि सहभागी राष्ट्रहरूले आफ्नो अडानमा आवश्यक लचकता अपनाउनुपर्ने बताए। वार्तामा एउटा शब्द र वाक्यमा समेत सहमति जुटाउन कठिन हुने भए पनि सामूहिक लक्ष्य प्राप्तिका लागि सबै पक्षले समझदारी देखाउनुपर्ने उनको भनाइ थियो।

स्टिलले सम्मेलनमा जलवायु परिवर्तनसँग जुध्ने व्यावहारिक कार्यक्रमले गति लिन थालेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कागजमा सीमित नराख्न आग्रह गरे। स्वच्छ ऊर्जा उत्पादन, जलवायु जोखिम सामना गर्न सक्ने पूर्वाधार निर्माण, हरित उद्योगको विकास र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा तत्काल काम अघि बढाउनुपर्ने उनले बताए।

जलवायु परिवर्तनविरुद्धको अभियानलाई सरकारी निर्णय र अन्तर्राष्ट्रिय सम्झौतामा मात्रै सीमित राखेर सफलता हासिल गर्न नसकिने उनको धारणा छ। यसलाई विश्वभरका नागरिकको दैनिक जीवनसँग जोड्नुपर्ने भन्दै उनले खेलकुद, मनोरञ्जन र संस्कृतिजस्ता लोकप्रिय क्षेत्रलाई जलवायु सचेतना फैलाउने माध्यम बनाउन सकिने बताए।

उनले जलवायु नीतिलाई नागरिकका प्रत्यक्ष आवश्यकता र जनजीविकासँग जोड्नुपर्नेमा पनि जोड दिए। गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारीका अवसर तथा सस्तो र भरपर्दो ऊर्जाको पहुँच सुनिश्चित गर्नु जलवायु अभियानकै महत्त्वपूर्ण हिस्सा हुनुपर्ने उनको भनाइ थियो।

नोभेम्बर २० सम्म सञ्चालन हुने कोप–३१ सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण र त्यससँग अनुकूलनका उपायबारे छलफल भइरहेको छ। विशेषगरी विकासशील मुलुकलाई उपलब्ध गराइने जलवायु वित्त, जलवायु अनुकूलन कार्यक्रम र स्वच्छ ऊर्जातर्फको संक्रमण सम्मेलनका प्रमुख एजेन्डा बनेका छन्।

सम्मेलनको बाँकी अवधिमा यी विषयमा ठोस सहमति जुटाउनु चुनौतीपूर्ण देखिएको छ। विकसित र विकासशील राष्ट्रबीच वित्तीय दायित्व तथा कार्यान्वयनका विषयमा साझा धारणा निर्माण गर्नुपर्ने अवस्थामा स्टिलले वार्ताकारहरूलाई समयमै निष्कर्षमा पुग्न दबाब दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *