`

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णाली विजयी, चितवन २४ रनले पराजित

Nepal One HD ३० कार्तिक २०८३ १६:२७
खेलकुद

काठमाडौं । हुसेन तलतले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो । यससँगै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ ।

सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछिका लगातार चार खेलमा पराजित भएको थियो । चितवन भने यसअघि नै प्लेअफमा पुगिसकेको थियो । सात खेलबाट सात अंक जोडेको चितवन लिग चरणमा चौथो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको छ ।

चितवनका लागि एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित २८ रन बनाए । उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । कमिल मिशाराले १७ बलमा दुई चौका र एक छक्कासहित २५ रन जोडे । देव खनालले १४ रन बनाए ।

कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे पनि त्यसपछि चितवनको ब्याटिङ सम्हालिन सकेन । कप्तान सिकन्दर राजा दुई, विवेक यादव ६ र डान मोस्ली आठ रनमा आउट भए । चितवनले ६४ रन पुग्दा पाँच विकेट गुमाइसकेको थियो ।

कुशल मल्लले १५ बलमा एक चौका र एक छक्कासहित १८ रन बनाए भने सलाउद्दिन खान सात रनमा आउट भए । यस सिजनको पहिलो खेल खेलेका अशोक धामीले ११ रन जोडे । कमल सिंह ऐरी र रिजन ढकालले समान एक रन बनाए ।

कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । मार्क वाट र पवन सर्राफले दुई-दुई तथा सोमपाल कामीले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीको इनिङ्समा तलतले सर्वाधिक ५१ रन बनाए । उनले ३३ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै अविजित रहे । ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडे ।

पवन सर्राफले २१ बलमा दुई छक्कासहित १५ रन बनाउँदा गुल्सन झाले अन्तिमतिर ६ बलमा एक चौका र दुई छक्काको मद्दतमा १८ रन थपे ।

यस सिजन पहिलो खेल खेलेका ओपनर चसिन शर्मा खाता नखोली आउट भए । दीपक डुम्रेले सात, कप्तान डेभिड मिलरले पाँच, सोमपाल कामीले चार र मार्क वाटले छ रन बनाए । नन्दन यादव दुई रनमा अविजित रहे ।

चितवनका कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान दुई विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक-एक विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *