`

जनकपुरधाम आइपुग्यो अयोध्याबाट छुटेको ‘सरयू-कमला एक्सप्रेस’ (तस्वीरहरू)

Nepal One HD ८ मंसिर २०८३ ११:३६
फोटोफिचर

जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सञ्चालन हुने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ ।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा उद्घाटन गरेपछि रेल सेवा सञ्चालनमा आएको हो ।

सोमबार दिउँसो १२ः३० बजे भारतको अयोध्याबाट छुटेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको हो । रेल जनकपुरधाम आइपुग्दा यात्रुहरूलाई फूलमाला तथा नेपाल र भारतका राष्ट्रिय झण्डा प्रदर्शन गरेर स्वागत गरिएको थियो ।

रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकीसमेत प्रस्तुत गरिएको थियो । रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका थिए ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो रेल भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामसम्म आइपुग्नेछ । यात्राका क्रममा रेलले मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ ।

१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् । यो रेल सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ ।

भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *