`

प्रहरीको स्वीप अपरेसन तीव्र, एकै दिन ७९ जना समातिए

Nepal One HD ८ मंसिर २०८३ ११:५०
समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने र आपराधिक गतिविधि नियन्त्रण गर्ने भन्दै प्रहरीले थालेको स्वीप अपरेसनमा एकै दिन ७९ जना पक्राउ परेका छन् ।

सार्वजनिक स्थानदेखि सार्वजनिक यातायातसम्म हुने दुर्व्यवहार, हातपात, हुलहुज्जत र गुण्डागर्दी नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले निगरानी बढाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार पक्राउ पर्नेमा ६७ पुरुष र १२ महिला छन् ।

प्रहरीको निगरानीमा सार्वजनिक सेवा प्रवाह हुने कार्यालय, सार्वजनिक स्थल र यातायातका साधनसमेत परेका छन् । सर्वसाधारण तथा सेवाग्राहीलाई दुःख दिने, चोरी गर्ने, लुटपाट गर्ने र बिचौलियाका रूपमा सक्रिय हुनेमाथि कारबाही अघि बढाइएको काठमाडौं प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार स्वीप अपरेसन केवल सडकमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिनेमै सीमित छैन । अदालतबाट सजाय तोकिएर फरार रहेका र विभिन्न मुद्दामा पक्राउ पर्न बाँकी प्रतिवादीमाथि पनि प्रहरीले खोजी तीव्र बनाएको छ ।

सोही क्रममा अदालतबाट दोषी ठहर भई फरार रहेका ९ जना पक्राउ परेका छन् । उनीहरूबाट ३ लाख ६८ हजार १०० रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ भने कुल ५ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, विभिन्न चालु मुद्दामा फरार रहेका ८ जना पनि पक्राउ परेका छन् । गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका एक कैदीबन्दीसमेत प्रहरी नियन्त्रणमा आएका छन् ।

यसरी पछिल्लो २४ घण्टाको प्रहरी कारबाहीमा ७९ जना स्वीप अपरेसनबाट र फरार प्रतिवादी तथा कैदीबन्दी गरी थप १८ जना पक्राउ परेको विवरणले देखाउँछ । काठमाडौं प्रहरीले सार्वजनिक सुरक्षा र अपराध नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तरता दिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *