`

कांग्रेसको रुख कसको?

शुभेच्छा खड्का ११ मंसिर २०८३ १७:११
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसको रुख चिह्न कसले प्रयोग गर्ने भन्ने विवाद अब निर्णायक मोडमा पुगेको छ।

निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक गरेपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्नमाथि आफ्नो अधिकार स्थापित भएको गगन पक्षको दाबी छ।

यही आधारमा उसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहलाई कांग्रेसको रुख चिह्न प्रयोग गर्न रोक लगाउने तयारी गरेको छ।

गगन पक्षले यसका लागि जारी केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक निर्णय गराएर निर्वाचन आयोगमा निवेदन दिने भएको छ। पार्टीको आधिकारिकता एउटै समूहमा कायम भइसकेपछि अर्को समूहले कांग्रेसको नाममा गतिविधि गर्नु र रुख चिह्न तथा चारतारे झण्डा प्रयोग गर्नु उचित नहुने उसको तर्क छ।

आयोगले बुधबार १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमितिसहित पार्टीको विवरण अद्यावधिक गरेको थियो। असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न महाधिवेशनपछि गगन पक्षले कात्तिक १६ गते विधान संशोधन, राजनीतिक दस्तावेज र अन्य निर्णयसहित विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो।

आयोगको पछिल्लो निर्णयलाई गगन पक्षले आधिकारिकताको बलियो आधार मानेको छ। महामन्त्री डा. डिला संग्रौलाले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै पार्टीको आन्तरिक विवाद सदाका लागि अन्त्य भएको घोषणा गरिन्।

अब अदालत र मुद्दामामिलामा अल्झिनुपर्ने अवस्था नरहेको भन्दै उनले आफूहरू नै आधिकारिक कांग्रेस भएको सन्देश देशभरका ६ हजार ७ सय ४३ वटै वडा र बुथसम्म पुर्‍याउन आह्वान गरिन्।

तर, देउवा समूह भने मंसिर २१ देखि २३ गतेसम्म अर्को महाधिवेशन गर्ने तयारीमा छ। एउटै पार्टीको नाममा दुई समूह सक्रिय रहँदा रुख चिह्नको प्रयोग कसले गर्ने भन्ने विवाद थप चर्किएको छ। गगन पक्षले देउवा समूहलाई रुख र चारतारे झण्डा प्रयोग गर्न रोक्न खोजेपछि कांग्रेसको चुनावी पहिचानमाथिकै संघर्ष सतहमा आएको छ।

कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पनि विचाराधीन छ। देउवा पक्षले आयोगको निर्णयविरुद्ध पुनरावलोकन निवेदन दिएपछि अदालतले सुनुवाइका लागि निस्सा प्रदान गरेको छ। तर, अन्तिम सुनुवाइ हुन बाँकी छ। त्यसैले आयोगको पछिल्लो निर्णयले गगन पक्षलाई तत्कालीन संस्थागत आधार दिए पनि अदालतको अन्तिम फैसलाले विवादको कानुनी दिशा निर्धारण गर्नेछ।

यसबीच गगन पक्षका नेताहरूले विवाद लम्ब्याएर रुख चिह्न र चारतारे झण्डा दुवै पक्षलाई प्रयोग गर्न नदिने अवस्था सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका छन्।

उनीहरूको दाबीमा देउवा समूहले रुख चिह्न आफूले पाउनुपर्ने अडान राखेको थियो। त्यो सम्भव नभए महाधिवेशनसम्म दुवै पक्षलाई चिह्न प्रयोग गर्न नदिने रणनीति बनाइएको थियो।

रास्वपाका केही सांसदको चीन भ्रमणका क्रममा कांग्रेसको आधिकारिकता विवादबारे भएको छलफलको अडियो सार्वजनिक भएपछि यो विवादले थप राजनीतिक चर्चा पाएको थियो।

उक्त अडियोमा अदालतले देउवालाई वैधानिकता दिए आफूहरूलाई राजनीतिक लाभ पुग्ने हिसाब गरिएको सुनिएको दाबी गगन पक्षका नेताहरूले गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *