`

शपथ ग्रहणपछि शिक्षामन्त्री खनालद्वारा सिंहदरबारमा पुगेर पदभार ग्रहण

Nepal One HD ३ माघ २०७९ १४:३६
प्रमुख खबर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त मन्त्री खनालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई सिंहदरबारमा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्य सहितका कर्मचारीले मन्त्रालया स्वागत गरेका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।

पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।

उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन् । एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन् । प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रिमण्डलमा ६ जना पहिला पनि मन्त्री भएका अनुहार छन् भने बाँकी दुई तिहाइ बढी नयाँ अनुहार छन् ।

 

 


प्रतिक्रिया