`

अफ्रिकामा पहिलोपटक हुने युथ ओलम्पिकको काउन्टडाउन सुरु

Nepal One HD २८ भदौ २०८३ १२:५१
खेलकुद

डाकार। अफ्रिकी महादेशमा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को तयारी तीव्र भइरहेका बेला शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ।

डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा आयोजित विशेष समारोहमा सयौँ मानिस सहभागी भएका थिए। सङ्गीत र नृत्यसहितको समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर र्यालीसमेत निकाले। उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने ‘लिन्गीर’ नाम दिइएको थियो।

आगामी अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म आयोजना हुने प्रतियोगितामा करिब दुई हजार ७०० युवा खेलाडीले सहभागिता जनाउनेछन्। डाकारसहित डियाम्नियाडियो र सालीमा आयोजना हुने प्रतियोगितामा युवा खेलाडीले ३५ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

सन् २०१० मा सिङ्गापुरबाट सुरु भएको युथ ओलम्पिक १५ देखि १८ वर्ष उमेर समूहका खेलाडीका लागि आयोजना गरिने ओलम्पिकको युवा संस्करण हो। यसपटक सेनेगलमा प्रतियोगिता आयोजना हुन लागेकाले अफ्रिकी खेलकुद र युवा प्रतिभाका लागि यो ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

प्रतियोगिताले अफ्रिकाका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समारोहमा सहभागी ‘लिन्गीर’मध्येकी गासिराह डियाग्नेले प्रतियोगिताले अफ्रिकाभरका युवालाई प्रेरित गर्ने बताइन्।

समारोहमा सेनेगलकी बास्केटबलकी दिग्गज खेलाडी मामे माटी मबेन्गुले ओलम्पिक कल्ड्रन प्रज्वलित गरेकी थिइन्। ओलम्पिक ज्योतिको स्वागत समारोहलाई प्रतियोगिताको औपचारिक तयारी र अफ्रिकी खेलकुदको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिकी अध्यक्ष किस्र्टी कोभेन्ट्रीले युथ ओलम्पिक सेनेगल र समग्र अफ्रिकाका लागि गर्वको क्षण भएको बताएकी छन्। उनका अनुसार अफ्रिकी महादेशमा पहिलोपटक युथ ओलम्पिक आयोजना हुनुले यहाँका युवा खेलाडी तथा खेलकुद क्षेत्रका लागि दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

ग्रीसको राजधानी एथेन्सस्थित पानाथेनाइक रङ्गशालाबाट बिहीबार सेनेगललाई हस्तान्तरण गरिएको ओलम्पिक ज्योति अब सेनेगलका विभिन्न क्षेत्रमा यात्रा गर्नेछ। सोमबारदेखि सुरु हुने ज्योतिको यात्राका क्रममा यसले करिब तीन हजार ६०० किलोमिटर दूरी पार गर्नेछ।

चार सयभन्दा बढी मशाल–बाहकको सहभागितामा ओलम्पिक ज्योतिले सेनेगलका सबै १४ क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। विभिन्न क्षेत्रको यात्रा पूरा गरेपछि ज्योति प्रतियोगिताको उद्घाटन समारोहका लागि पुनः राजधानी डाकार ल्याइनेछ।

अफ्रिकामा पहिलोपटक हुन लागेको युथ ओलम्पिकले खेलकुद प्रतियोगितासँगै सेनेगलको संस्कृति, युवा शक्ति र अफ्रिकी खेलकुदको सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *