`

वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई सरकारले निर्मम ढङ्गले कारबाहीको दायरमा ल्याउँछ : सुरक्षामन्त्री अर्याल

Nepal One HD २२ माघ २०७९ १४:४७
राजनीति

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई सरकारले निर्मम ढङ्गले कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा वैदेशिक रोजगारीका क्रममा गठिएका व्यक्तिहरूसँग छलफल गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेलाई सरकारले कुनै पनि हालतमा संरक्षण नगर्ने र निर्मम ढङ्गले कारबाहीको दायरमा ल्याइने बताउनुभएको हो । उहाँले अहिले संस्थागत ठगी गरे बदनामी हुने डरले म्यानपावर कम्पनीले नै व्यक्तिलाई अघि सारेर ठगी गरेको आशङ्का रहेको धारणा राख्नुभयो । यस क्षेत्रमा हुने गरेको ठगिएका बारेमा आफू जानकार रहेको र त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थित पार्नका लागि मन्त्रालयका विभिन्न निकायलाई निर्देशन नै दिइसकेको जानकारी दिनुभयो । उहाँले आफू मन्त्री भएदेखि श्रमिककै हकहितका लागि काम गरिरहेको दाबी गर्नुभयो ।

श्रम, रोजगारका क्षेत्रमा काम गर्नका लागि आफूलाई सबै टिमबाट सहयोग प्राप्त भएकाले वैदेशिक रोजगारीको क्षेत्रका अन्य समस्याहरू अवगत गराउन पनि उहाँले आग्रह गर्नुभयो ।


प्रतिक्रिया