`

त्रिभुवन विमानस्थलको अध्यागमनको कामकारबाहीप्रति मन्त्री किराँती असन्तुष्टि

Nepal One HD ८ फागुन २०७९ १७:०९
राजनीति

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको अध्यागमनको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ । 

सोमबार पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ लगायतले संयुक्त रूपमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले विमानस्थलका समस्याहरू अध्यागमनले समाधान गर्नुपर्नेमा त्यसो हुन नसकेको रिपोर्ट आउने भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

अहिले मोबाइल ल्याउने व्यवस्था, ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्थामा सरकारको नीति विपरीत अध्यागमनले नियन्त्रणमा लिने काम गरेको उहाँको भनाइ छ । उहाँले विमानस्थलको सर्भर डाउन हुँदा हजारौँ यात्रु समस्यामा परेको भन्दै अध्यागमनले समयमा नै समाधान गर्न नसकेको बताउनुभयो । त्यस्तै मन्त्री किराँतीले काठमाडौँ उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने र केही प्रक्रियागत कारणले ढिलाइ भइरहेको धारणा राख्नुभयो । मन्त्री किराँतीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले पर्यटनसँग उत्पादन जोड्नुपर्ने भन्दै मन्त्रालयले छिट्टै सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवर्द्धनको रणनीति तयार गरिने उल्लेख गर्नुभयो । 


प्रतिक्रिया