`

मेरो लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन – प्रधानमन्त्री प्रचण्ड

Nepal One HD १८ फागुन २०७९ १९:०८
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको बताएका छन् । काठमाडौंमा बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो कुरा गरेका हुन् ।

आफ्नो लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा ठूलो भएको बताए । तर, २६ पुसमा संसदमा केपी ओलीले संसद विघटन गर्नु ठीक थियो भनेपछि संसद विघटनको विपक्षमा रहेकाहरुले सोच्न बाध्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

‘संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ । हामीसँग विगतका तीता अनुभवहरू छन्। राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो। तर, विगतमा त्यस्तो भएन” प्रधानमन्त्रीले भने, ‘यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान नेता उम्मेदवार बनाएका छौँ। उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले २६ पुसको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए । 

‘अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ,’ प्रधानमन्त्रीले भने, ‘रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ । गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ ।’ 


प्रतिक्रिया