पहिरो फुटाउन विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटियो: रघुजी पन्त
काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले मुग्लिन-नारायणगढ सडक खण्डमा पुल बनाउन पहरो फुटाउन विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटिएको भन्दै आपत्ती जनाउनु भएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले विष्फोटक पदार्थ माग्दा फाइल नै पठाउनुपर्ने अवस्था आएको भन्दै आपत्ती जनाउनु भएको हो।
सांसद पन्तले भन्नुभयो, ‘मुग्लिन-नारायणगढ सडक खण्डमा पुल बनाउनका लागि पहरो फुटाउन विष्फोटक पदार्थ माग गरिएको फाइल न गृह मन्त्रालयमा पाइन्छ न रक्षा मन्त्रालयमा फेला पर्छ। गृहले रक्षालाई देखाउँछ, रक्षाले गृहलाई देखाउँछ। उसले भौतिकलाई देखाउँछ। अन्तमा त्यो फाइल ६ महिनापछि वैशाख १ गते भारतीय दूतावासमा पाइयो । के हामीले विष्फोटक पदार्थ माग्दा फाइल नै पठाउनुपर्छ ?’
उहाँले चिनियाँ कम्पनीले टेण्डर हालेर पाएको प्रोजेक्टमा पनि र चिनियाँ कम्पनीहरू इन्भल्भ भएका प्रोजेक्टमा भारतले विष्फोटक पदार्थ नपठाउने अवस्था आएको बताउनु भयो ।
भारतले नेपालाई विष्फोटक पदार्थ दिन अप्ठ्यारो मानिरहेको भन्दै उनले विष्फोटक पदार्थ नेपालमै बन्नुपर्नेमा जोड दिनुभयो ।
