नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको ओलीकाे प्रस्टोक्ति


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी मानिसहरूले एमाले विरुद्धको प्रचारमा लागेका बताउनु भएको छ। ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको प्रष्ट पार्नुभयो ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारमा १ घण्टा भन्दा लामो छलफलपछि बाहिरिने क्रममा यस्तो बताउनु भएको हो ।
सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेपछि निस्किने क्रममा ओलीले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अभियुक्त बचाउन लागेको भनेर आफूविरुद्ध हल्ला फैलाइएको बताउनु भयो । ’अभियुक्तलाई बचाउन खोज्नुभएको भन्ने आरोप छ नि ?’ भन्ने प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ’तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन, त्यस्ताहरूले हल्ला फैलाएका हुन ।’
ओलीले प्रधानमन्त्री दाहालसँग थप के विषयमा छलफल भयो भन्ने विषयबारे भने केही खोल्नुभएन । त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ छन भन्ने प्रश्नको जवाफमा पनि ओलीले आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ’तपाईंहरूले खोज्नु न !’ रायमाझी आफ्नो सम्पर्कमा नरहेको अध्यक्ष ओलीको भनाइ थियो ।