`

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

Nepal One HD ८ जेठ २०८० १६:५५
राजनीति

काठमाडौं – सत्तारुढ जनता समाजवादी पार्टी संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका यादवलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

गत वैशाख १० गते बारा क्षेत्र-२ मा भएको उपनिर्वाचनबाट विजयी भएपछि उहाँ सोमबार बसेको संसदीय दलको बैठकबाट नेतामा चयन भएका हुन् ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी क्षेत्र नम्बर २ मा जमत पार्टीका डा. सीके राउतसँग पराजित हुनुभएको थियो। यादव पराजित भएपछि बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव दलको नेता बन्नुभएको थियो ।

तर गत चैत ३ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा उहाँ विजयी भएपछि जसपा दलको नेता पद खाली थियो । सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । सत्ता गठबन्धन सरकारमा अहिले पनि जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालय खाली छ।

जसपबाट अशोक राई शिक्षा मन्त्री हुनुहुन्छ। उक्त खाली मन्त्रालयमा जसपाले अहिलेसम्म मन्त्री पठाउन सकेको छैन। यस्तो दलको नेता चयन भएका यादव आफैं उपप्रधानमन्त्री समेत लिएर सरकारमा जान सक्ने बाटो खुलेको छ। यदि यादव सरकारमा नगए डा. वीरेन्द्र महतो, राजकिशोर यादव र प्रदीप यादवमध्ये एकजना मन्त्री बन्न सक्ने छन्।


प्रतिक्रिया