`

महानगरले तोड्यो विद्यालयहरुमा अखिल क्रान्तिकारीले लाएको ताला

Nepal One HD ३० जेठ २०८० १७:१४
प्रमुख खबर

काठमाडौँ – काठमाडौं महानगरपालीकाले आफ्नो क्षेत्राधिकारभित्र रहेका विद्यालयहरुमा लगाइएको ताला नगर प्रहरी बलले खोलेको छ । विभिन्न माग राख्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको विद्यालयहरुमा लगाइएको ताला मंगलबार कामपाले तोडेको हो ।

क्रान्तिकारीले नक्सालस्थित ग्यालेक्सी स्कुल, स्वयम्भुस्थित संस्कृत स्कुल, मालीगाउँस्थित वृहस्पति विद्या सदन र बुढानिलकण्ठस्थित भ्याली पब्लिक स्कुल, काष्ठमण्डप स्कूलमा तालाबन्दी गरिएको जनाएको थियो ।

यस विषयमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले, विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध गरेका छन् ।

‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ । विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ । चाहे त्यो सरकारी होस् वा निजी ।’ प्रमुख शाहले भनेका छन्, ‘हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ ।’

यस अघि प्रमुख शाहले सार्वजनिक अपिल गर्दै शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गर्नुभएको थियो ।

यसैगरी, विद्यालयमा राजनीतिक नगर्न अर्को पटक सार्वजनिक सूचनामार्फत आग्रह गरिएको थियो ।

लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेजस्ता नियमको पालना गराउन महानगर आफैँले नियमित अनुगमन र नियमनका काम गरिरहेको छ ।


प्रतिक्रिया