आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भयो : रवि लामिछाने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा धादिङ काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरा मात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो ।
उहाँले आफू र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाब लिएर जनतामाझ जाने जिकिर गर्नुभयो । नागरिकका मुद्धाहरुमा दरो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच वर्षको हिसाब व्याजसहित जनतालाई देखाउने उहाँको भनाइ छ । उहाँले संस्थागत रूपमा नै भिन्न ढङ्गले नयाँहरूलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राख्नुभयो । नयाँ राजनीतिक दलका रूपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरूमाथि आफूहरूको कुनै लडाई नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले आफूहरूको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गर्नुभयो ।