प्रदेश सञ्चार विधेयक स्वतन्त्रताविरोधी हुँदैन : मुख्यमन्त्री पाण्डे


पर्वत – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र निष्पक्ष पत्रकारिता नै लोकतन्त्रको बलियो आधार भएको बताउनुभएको छ ।
नेपाल प्र्रेस युनियन पर्वतको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता पेसाले समाज र राष्ट्रलाई सही दिशामा हिँडाउन खबरदारी गरिरहेको बताउनुभयो । उहाँले पत्रकारिता पेसा निष्पक्ष र स्वतन्त्र तथा तटस्थ नभए लोकतन्त्र नै सङ्कटमा पर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय केही सीमित सञ्चारकर्मीका कारण सिङ्गो प्रेस आलोचित बन्दै गएको बताउँदै यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विधेयक स्वतन्त्रताविरोधी नहुने स्पष्ट पार्नुभयो । उहाँले सञ्चार विधेयक ल्याएर प्रदेशका सबै सञ्चारमाध्यम र सञ्चार क्षेत्रको व्यवस्थापनमा सरकार लागेको बताउँदै विधेयकमा सञ्चारमाध्यमलाई कुनै अङ्कुश नलगाइने बताउनुभयो । उहाँले अन्य क्षेत्र जस्तै सञ्चार जगत्मा पनि नियमनको आवश्यकता रहेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले सीमित स्रोत र साधनका बीच प्रदेशको बजेट सबै जिल्लामा पहुँच पुग्नेगरी वितरण गरिएको दाबी समेत गर्नुभयो । प्रदेशका ११ जिल्लाबाट छनौट भएर आएका अधिकांश योजनालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आम सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा तीनै तहका सरकार उदार हुन नसकेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमको विकास र विस्तारबाट मात्रै यो मुलुकको लोकतन्त्र संस्थागत हुने बताउँदै यसको सङ्कुचनमा नलाग्न आग्रह गर्नुभयो ।
सो अवसरमा हरि मखमली प्रेस युनियन पत्रकारिता पुरस्कारबाट स्थानीय र राष्ट्रियस्तरका गरी १० जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेस पर्वतका सभापति युवराज जोशी, प्रदेश सांसद डिल्लीराम सुवेदी, रेखा गुरुङ, कांग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङ, पूर्वजिल्ला सचिव विश्वप्रकाश प्रसाईँ, प्रेस युनियनका केन्द्रीय सदस्य माया अधिकारी, पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, टे«ड युनियन कांग्रेसका अध्यक्ष सुरेन्द्र केसीलगायतले आफ्ना भनाइ राख्नुभयो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।