`

‘कोशी’ नाम काटेर निर्मला लिम्बुले लिइन् मन्त्रीकाे शपथ, शपथ कानुनविपरीत हुने

Nepal One HD २६ साउन २०८० २०:३५
प्रमुख खबर

विराटनगर।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले जनता समाजवादी पार्टीकी एक मात्र सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्री लिम्बुलाई शुक्रबार अपरान्ह साढे ४ बजे कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कोशी प्रदेश नामकरणको विरोध गर्दै आएकी लिम्बुले मुख्यमन्त्री थापाले प्रदेशको पुनः नामकरण गर्न प्रतिबद्धता जनाएकाले आफू मन्त्रिमण्डलमा सहभागी भएको बताइन् । 

‘कोशी’ नाम काटेर शपथ

शपथ ग्रहण भइसकेपछि मन्त्री लिम्बुले ‘कोशी प्रदेश’ उच्चारण गर्नु परेको भन्दै प्रदेशको नाम नभनीकन शपथ लिन चाहेको प्रदेश प्रमुख खापुङसँग समक्ष आग्रह गरिन् । उनले एउटा शब्द नभनीकन शपथ लिन चाहेको बताएपछि प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले उक्त शब्द के होला ? भन्दै सोधेका थिए ।
उनले शपथको व्यहोरा पुनः दोहोर्याउँदै कोशी प्रदेशको साटो १ नम्बर प्रदेश उच्चारण गरिन् । उनले कोशी नाम सच्चिनुपर्छ भनेर नै विगतमा मन्त्री पदबाट राजीनामा दिएको भन्दै शपथ पढ्दै जाने क्रममा कोशी प्रदेश उच्चारण गर्नुपरेको बताइन् ।

मन्त्री लिम्बुले त्यतिमात्रै गरिनन्, प्रदेश प्रमुखको कार्यालयले दिएको शपथको लिखित व्यहोरामै कानुनविपरीत कोशी नाम काटेर प्रदेश १ लेखेकी छिन् । प्रदेश सभाबाट दुईतिहाई बहुमतले पारित गरेको प्रदेशको नामलाई अस्वीकार गर्दै मन्त्री लिम्बुले पुनः शपथको व्यहोरा पढेपछि शपथ ग्रहण समारोहमा उपस्थित भएका सत्ता गठबन्धनका नेताहरू भने मुखामुख गरेर बसेका थिए ।

प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत योगराज गिरीले मन्त्री आफैँले कानुन विपरीत प्रदेशको नाम काटेको बताए । उनले कानुन अनुसारको शपथ ग्रहणको व्यहोरालाई नै परिवर्तन गर्न नमिल्ने बताए ।

‘शपथको व्यहोरामा बोल्दामात्रै भन्दा हुने विषय थियो, कानुन विपरीत गरेर वहाँले कोशी नाम काटेर प्रदेश १ लेख्नु भयो,’ गिरीले भने, ‘कोशी नाम काटेको ठाउँमा हामीले मन्त्रीज्यूलाई हस्ताक्षर गर्न लगाएका छौं ।’


प्रतिक्रिया