`

ललिता निवास जग्गा प्रकरण छानबिन होस्, मेरो सहयोगी भूमिका रहन्छ: माधव नेपाल

Nepal One HD २९ साउन २०८० १२:२५
राजनीति

काठमाडौँ / एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरण छानबिनमा आफ्नो सहयोगी भूमिका रहने बताएका छन्। उनले आफू पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरू प्रकाशित भएकोमा चित्त दुखाएका छन् ।

सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको प्रस्ट्याए। साथै उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए ।
उनले आफूले कुनै गलत काम नगरेकाले नआत्तिएको बताए । ‘कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन,’ उनले भने ।

ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानको घेरामा तानिने देखिएको हो।

अदालतले आदेश दिएको भोलिपल्ट अध्यक्ष नेपाल विदेश गएपछि कतिपयले विदेश जान दिइएको भन्दै सरकारको पनि आलोचना गरेका थिए।


प्रतिक्रिया