`

कृषिबाट मात्रै देश समृद्ध हुनसक्छ : अध्यक्ष नेपाल

Nepal One HD २५ असोज २०८० १९:३९
राजनीति

भजनी (कैलाली) असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सकेमात्रै देश समृद्ध हुने बताउनुभएको छ ।

पार्टीको मेची–महाकाली जागरण अभियानका क्रममा कैलालीको टीकापुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री नेपालले कृषि क्षेत्रलाई उद्यमसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

“हाम्रो प्रमुख समस्या रोजगारी बनेको छ । रोजगारीकै कारण दैनिक हजारौँ दक्ष जनशक्ति देश बाहिर पलायन भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसलाई रोक्नका लागि सरकार गम्भीर बनोस् । कृषि क्षेत्रको विकासमा आगामी यात्रा तय गर्नुको विकल्प छैन ।”

राज्यको सम्पत्तिको दोहन गर्दै राज्यका निकायलाई प्रभावमा पारेर सुनौला अवसरलाई कार्यान्वयन गर्न नदिने तत्वका कारण देश खतरामा परेको अध्यक्ष नेपालको भनाइ थियो । उहाँले राजनीतिक वितृष्णा र युवामा देखिएको निराशाले देशको भविष्यलाई अन्योलमा पार्न सक्ने भन्दै त्यसलाई निरुत्साहित गर्नकै लागि पार्टीको जागरण अभियान सुरु भएको बताउनुभयो ।

वर्तमान व्यवस्थालाई मास्नका लागि केही विरोधी शक्ति सलबलाउन थालेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसको रक्षाका लागि सबैले एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो ।

पार्टीका महासचिव घनश्याम भुसालले संविधानको पूर्ण कार्यान्वयन नै समृद्धिको प्रमुख आधार हुने बताउनुभयो । बेरोजगारीका कारण देश खाली हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

महासचिव भुसालले भन्नुभयो, “हाम्रा हरेक नीति रोजगारीसँग जोडिन आवश्यक छ । रोजगारी भएपछि मात्रै देश समृद्ध बन्न सक्छ ।” रोजगारीका अवसर कृषि क्षेत्रबाट मात्रै सम्भव रहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया