`

‘जनस्तरको सम्बन्धलाई ख्याल गर्दै नेपाल–भारतबीचको खुला सीमा व्यवस्थापन गर्न जरुरी’

Nepal One HD २६ असोज २०८० ७:०९
राजनीति

जनकपुरधाम – नेपाल–भारतबीच सदियौँदेखि कायम जनस्तरको सम्बन्धको आधारमा खुला सीमा व्यवस्थापन गरिनुपर्नेमा सरोकारवालाले जोड्दिनुभएको छ ।नेपाल–भारत खुला सीमा संवाद समूह, जनकपुरले बिहिबारयहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सरोकारवालाले एउटै सांस्कृतिक सम्बन्ध भएका नागरिक दुई देशमा बाँडिएकाले खुला सीमा व्यवस्थापनको विषय राजनीतिक र कानुनी रुपमा मात्रै हेर्न नहुनेमा जोड्दिनुभएको हो ।

कार्यक्रममा जनमत पार्टीका महासचिव एवं मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले नयाँ परिवेशअनुसार नेपाल—भारतबीचको सीमा समस्यालाई गम्भीर र सूक्ष्म रुपले विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विगतको तुलनामा दुई देशको सांस्कृतिक एवं वैवाहिक सम्बन्धमा केही कमी आउन थालेको भन्दै मन्त्री सिंहले दुई देशको मैत्रीपूर्ण सम्बन्धमा टकराव नआउने गरी समस्या समाधानका उपाय खोज्न जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेश सभा सदस्य रामसरोज यादवले राष्ट्रिय सुरक्षा र प्रतिष्ठाको विषयमा दुवै देश आ—आफ्नो रणनीति बनाउन सार्वभौम र स्वतन्त्र रहे पनि सीमाका विषयमा स्थानीय संवेदनालाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो । नेपाल र भारतबीच सीता र श्रीरामकालीन समयभन्दा पहिलेदेखि नै सम्बन्ध रहेको र स—साना मतभेदले त्यो सम्बन्धलाई बिगार्ने गरी कसैले पनि क्रियाकलाप गर्न नहुने उहाँको भनाई थियो ।

नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले नेपालको राजनीतिक स्थिरताले नै सीमालगायत समस्या समाधान गर्न सहज हुने बताउनुभयो । नेपालको राजनीतिक स्थिरताका लागि भारतले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का नेता एवं नेपाल सरकारका पूर्व कानुनमन्त्री अजयशंकर नायकले क्षेत्रीय सुरक्षासँग जोडिएको खुला सीमा समस्या दुई देशको उच्च तहमा वृहत छलफल गरी टुंगोमा पु¥याउनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय कार्यवहाक अध्यक्ष डा.विजय सिंहले नेपाल—भारतबीच जनस्तरमा रहेको सम्बन्धलाई राजनीतिक, प्रशासनिक र कानुनी ढंगले मात्रै परिभाषित गर्न खोज्दा समस्या हुने गरेको भन्दै यस विषयमा संवेदनशील बन्न सबैलाई आग्रह गर्नुभयो ।

त्यसैगरी भारतीय महावाणिज्य दूतावास वीरगञ्जका काउन्सिलर शैलेन्द्र कुमारले देशको सम्प्रभुता र राष्ट्रियतासँग जोडिएका सवालमा कुनै सम्झौता नभए पनि नागरिकसम्बन्धलाई भने दुवै देशले सम्मान गर्नसक्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमाका विषय सधैं संवेदनशील हुने भन्दै कुनै समस्या देखिए दुई देशले संवादमार्फत सुल्झाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगर प्रमुख मनोजकुमार साह, नगराईन नगरपालिका प्रमुख विनय यादव, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ, चेम्बर आफ कमर्श जयनगर भारतका महासचिव अनिल बडोरिया, नगर पञ्चायत जयनगरका अध्यक्ष कैलाश पासवान, संवाद समूहका अध्यक्ष राजीव झा, जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रले खुला सीमा समस्या र दुई देशबीचको सम्बन्धका बारेमा आ—आफ्नो धारणा राख्नुभयो । उहाँहरुले खुला सीमामा हुने गैरकानुनी कार्य रोक्न दुवैतर्फका सुरक्षा निकाय संवेदनशील हुनुपर्ने तर नागरिकलाई कुनै पनि बहानामा दुःख दिन नहुनेमा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।


प्रतिक्रिया