पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण
लेखनाथ (कास्की) २६ असोज : पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा रु ९५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उक्त शौचालयको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
पोखरा–९ महेन्द्रपुलको सार्वजनिक जग्गामा रहेका जीर्ण भवनहरु विस्थापित गरी आठ आना क्षेत्रफलमा निर्माण गरिएको अपाङ्गमैत्री शौचालयमा चमेना गृह, बगैँचा र शौचालयभित्र स्तनपान कक्षसहित सेनेटरी प्याड पनि उपलब्ध हुने छ । महिला–पुरुष उक्त सार्वजनिक शौचालय केही दिनभित्र नै सञ्चालनमा ल्याइने छ ।अत्याधुनिक सार्वजनिक शौचालय निर्माणसँगै पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई अप्ठ्यारो परिस्थितिमा दिसापिसा गर्नका लागि सहजता मिल्ने विश्वास स्थानीय एवं समाजसेवी नरेन्द्र लालचनले बताउनुभयो । गैरआवासीय नेपाली सङ्घको रु ६० लाख र पोखरा महानगरपालिकाको रु ३५ लाख गरी ९५ लाखमा निर्माण बगैँचासहितको अत्याधुनिक शौचालयको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त शौचालय पोखराकै नमूना बनेको बताउनुभयो ।शौचालय परिसरमा चमेनागृहसहित स्तनपान कक्ष र सेनेटरी प्याडको पनि व्यवस्था गरिएको नगरप्रमुख आचार्यको भनाइ छ । शौचालय निर्माणसँगै यसको उचित सदुपयोग र संरक्षण गर्ने दायित्व प्रयोगकर्ता सबैको भएको उहाँले बताउनुभयो ।“शौचालयमा जम्मा हुने दिसापिसावबाट बायो ग्यास निकालेर चमेनागृहमा प्रयोग गरिने योजना महानगरले अगाडि सारेको छ”, प्रमुख आचार्यले भन्नुभयो, “चमेनागृह आसपासमा चौतारी निर्माण गरिने छ भने अधिकांश ठाउँ खुल्ला रहने छ ।”एनआरएनएका अध्यक्ष एवं मेगा प्रोजेक्ट संयोजक रविना थापाले शौचालय निर्माणले पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घले पोखरा महानगरपालिकाको साझेदारीमा अन्य योजना निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाको भनाइ छ ।पोखरा महानगरपालिकाभित्र हाल १५ स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय सञ्चालन छन् ।
