`

माओवादी घटक दलहरु बीचको एकता आवश्यक : प्रधानमन्त्री दाहाल

Nepal One HD ९ कार्तिक २०८० १६:११
प्रमुख खबर

रुकुम– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटनका क्रममा उनले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने,“हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियाँै, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो । ” केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको बुझाइ छ ।

“हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो ।”, उनले भने । प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँचवर्ष नै टिक्ने दावी गरे ।

उनले भने, “हामीले निकै बलियो सरकार बनाएका छौ । यो सरकार पाँच वर्षनै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।” सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनले आरोप लगाए । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताए । “हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छाँै । अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ, ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन् ।” प्रधानमन्त्री दाहालले भने ।

वर्तमान सरकार गठनभएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले मिटरव्याजीलाई कारबाही गरेका छाँै । नक्कली भुटानी शरणनार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छाँै । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरुको ठूलो साथ र सहयोग रहेको छ ।”


प्रतिक्रिया