`

व्यावहारिक राजनीतिका नाममा कांग्रेसले आफ्नो सिद्धान्त नछाड्ने

Nepal One HD १५ कार्तिक २०८० १९:३८
प्रमुख खबर

लेखनाथ, १५ कात्तिक : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले व्यावहारिक राजनीतिका नाममा आफ्नो सिद्धान्तलाई कांग्रेसले छाड्न नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलनको आज पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा कोइरालाले भन्नुभयो– “सिद्धान्तहिन राजनीति अगाडि बढ्दा कांग्रेसका कार्यकर्तामा निराशा पैदा भएको छ । आउँदो निर्वाचनमा कांग्रेसले चुनाव एक्लै लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही छ ।”

नेता कोइरालाले कांग्रेस एकढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने उल्लेख गर्नुभयो । अहिले कांग्रेसलाई कांग्रेसले नै हराइरहेकाले सो कार्य बन्द हुनुपर्ने उहाँको भनाइ थियो । “ कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहन्छ, जनताप्रति उत्तरदायी भई जनताको सेवामा अगाडि बढ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र दल लाग्नुपर्नेमा जोड दिँदै नेता कोइरालाले भन्नुभयो, “महँगी नियन्त्रणमा वर्तमान सरकारले चासो दिनु जरुरी छ । महँगी नियन्त्रणका बारेमा कांग्रेसले आवाज उठाउनुपर्दछ । वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लाग्नुपर्दछ ।”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेसलाई बलियो बनाउन सकेको खण्डमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताउनुभयो । उहाँले नेपाली जनताको विश्वास कांग्रेसमाथि भएकाले जनताको सेवामा कांग्रेस कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांगे्रसले गरेका काम प्रचारमा ल्याउन नसक्दा पार्टी पछाडि परेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माणमा कांग्रेस सरकारको पालामा धेरै उपलव्धि भएको भनाइ उहाँको थियो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकीका सभापति शुक्रराज शर्मा, कास्कीका सभापति किशोरदत्त बराल, कांग्रेस नेता यज्ञबहादुर थापा, कृष्ण केसीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।


प्रतिक्रिया