`

रानीकोटको विकासमा पर्यटनमन्त्री किरातीको जोड

Nepal One HD २० कार्तिक २०८० ६:०२
राजनीति

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भक्तपुरको रानीकोट पर्यटकीय दृष्टिकोणले अपार सुन्दरता रहेको बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रानीकोट क्षेत्रको आइतबार अवलोकन गर्दै उहाँले यो क्षेत्र पर्यटनको धेरै सम्भावना बोकेको ऐतिहासिक क्षेत्र रहेको बताउनुभयो ।

अवलोकनका क्रममा यहाँको एक रिसोर्टमा पर्यटन व्यवसायीसँग यहाँको पर्यटनका बारेमा छलफल गर्दै उहाँले ऐतिहासिक क्षेत्र रानीकोट दरबारको उत्खनन्, यहाँको संरक्षण र पर्यटकीय गन्तव्यका लागि आवश्यक संरचनाको निर्माणमा ध्यान दिने बताउनुभयो ।

रानीकोटको बाघ भैरव मन्दिर र विशेषताका बारेमा उहाँले जानकारी लिनुभएको थियो । पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले पर्यटनमन्त्री किरातीले यस क्षेत्रको अवलोकनबाट प्रभावित भएको बताउनुभयो । यहाँबाट देखिने उपत्यकाका मनोरम दृश्य, यहाँबाट देखिएका विभिन्न आठ वटा हिमाल, सुन्दर प्राकृतिक दृश्य, ऐतिहासिक क्षेत्रको अवलोकन पछि यहाँको विकास आवश्यक रहेको र सरकारले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री किरातीसँगै रानीकोट पुग्नुभएका लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत रहनुभएका बौद्ध धर्म गुरु डा ल्हारक्याल लामाले बाघ भैरव मन्दिर क्षेत्रका विकासका लागि आफूले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले यहाँको विकासका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया