नवलपरासी जीप दुर्घटना– ज्यान गुमाउनेको संख्या ७ पुग्यो
नवलपरासी– नवलपरासीको देवचुलीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडाको मात्रै परिचय खुलेको छ । बाँकी २ जनाको भने परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।
