`

मञ्जुश्री ट्रेल रेसको उपाधि रमेश लिम्बू र अनिता राईलाई

Nepal One HD २६ कार्तिक २०८० १६:५५
खेलकुद

काठमाडौ– नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सकिएको छ । प्रतियोगितामा पुरुषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पारेका छन् । लिम्बुले १ सय ७० किलोमिटर रेस ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल भएका हुन् ।
विद्यार्थी जीवनमा घरबाट स्कुल जाँदा ताप्लेजुङमा करिब एक घण्टाको बाटो दौड्ने गरेको बानी नै आफ्नो दौडको आधार भएको लिम्बूले बताए ।

विजेता लिम्बू र राईले सन् २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस’मा सहभागी हुने अवसर पाएका छन् । सो अवसरमा उनीहरुको आर्थिक लगायत यात्रा व्यवस्थापनमा मञ्जुश्री ट्रेल रेसले संयोजन गर्नेछ । शुक्रबार बिहान ६ बजे काठमाडौँको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट १ सय ७० किलोमिटर दौड सुरू भएको थियो । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकले जनाएको छ । रेसमा दौडने क्रममा प्रतियोगीले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरुले ती सबै पहाड गरी कूल नौ हजार आठ सय मिटरको उचाइ लिएका थिए ।

उक्त उचाइ समुद्रदेखि सगरमाथाको चुचुरोसम्मको भन्दा बढी भएको आयोजक मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले बताए । उनका अनुसार रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका छन् । जसअन्तर्गत झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता समावेश गरिएका थापाले जानकारी दिए । उनका अनुसार सबै दौड दह चोकस्थित कालु पाँडे डाँडामै पुगेर सकिएका थिए ।

९२ किलोमिटर रेस २० घण्टा १३ मिनेट ३ सेकेन्डमा पार गर्दै पुरुषतर्फ विक्रम थामी विजेता बने । महिला सहभागी कसैले पनि ९२ किलोमिटर रेस पूरा नगरेकाले सो विधामा महिलातर्फ विजेता नभएको आयोजकको भनाइ छ । ५४ किलोमिटर रेस आठ घण्टा ३३ मिनेट १९ सेकेन्डमा पार गर्दै पुरुषतर्फ विकल्प पोख्रेल र महिलातर्फ आठ घण्टा ३६ मिनेट तीन सेकेन्डमा पार गर्दै मन्जु रावत पहिलो भएका छन् ।

त्यस्तै २४ किलोमिटर रेस तीन घण्टा पाँच सेकेन्डमा पार गर्दै पुरुषतर्फ श्याम मग्राती र महिलातर्फ तीन घण्टा ३९ मिनेट नौ सेकेन्डमा पार गर्दै प्रिया राई प्रथम भएका छन् ।

विजेताले मेडल, प्रमाणपत्र र ‘एड्भेन्चर गियर’ लगायतका पुरस्कार पाएका छन् । प्रतियोगिता चार चरणमा सम्पन्न भएको थियो । चार चरणमा गरी ६७ नेपाली र २१ विदेशी गरी ८८ प्रतियोगी सहभागी भएका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १९ जना महिला सहभागी थिए । यही प्रतियोगिताका लागि विदेशीसमेत नेपाल आएका थिए । यसरी देशमासमेत नेपालको अल्ट्रा ट्रेल रेसको प्रतिष्ठा बढ्दै गएको थापाको भनाइ थियो ।


प्रतिक्रिया