केन्द्रीकृत मानसिकता सङ्घीय सरकार र नेतामा हावी भयो : सांसद देवकोटा
काठमाडौँ, १६ मङ्सिर : राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा सङ्घीय संसद््ले अपेक्षित नतिजा दिन नसकेको धारणा राख्नुभएको छ । राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसद््प्रति जिम्मेवार तथा जवाफदेही हुन नसकेको उहाँको विश्लेषण छ ।
“सरकार नै संसद्माथि हावी छ । सरकार हावी भएका कारण संसद् बलियो हुन नसकेको हो । यसलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन हुन नसकेको भनेर बुझ्न सकिन्छ”, सांसदसँग रासस संवादका क्रममा उहाँले भन्नुभयो, “संसद्ले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन सकिएको छैन । सरकारका गतिविधिको अनुगमन गर्ने अधिकार संसद्लाई छ । तर कुनै मन्त्रीलाई संसद्मा उभ्याएर जवाफ दिन लगाउन सकेको देखिँदैन । प्रश्न गरेको देखिँदैन ।”
सङ्घीय कानुन निर्माणको गति सुस्त हुँदा पछिल्लो समय संसद्को विधायिकी भूमिकामाथि प्रश्न उठ्न थालेको छ । एकातिर नागरिकका अपेक्षा र जनजीविकासँग जोडिएका विषयको उठान तथा सम्बोधन संसद्मा नहुने र अर्कोतर्फ कानुन निर्माणमा पनि गति नदेखिने भएपछि नागरिक तहबाटै व्यवस्थाप्रति वितृष्णा बढ्दो रहेको उहाँको बुझाइ छ ।
