‘बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंक’ : मुख्यमन्त्री केदार कार्की
राजनीति
मोरङ, २४ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंकमार्फत विकासको कार्यलाई तीव्रता दिइने बताउनुभएको छ ।
प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका उहाँले प्रदेश बनाउनका लागि यस्तो योजनाका साथ सरकार अघि बढेको बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले कामको गतिलाई तीव्रता दिई जनतालाई विकासको अनुभूति गराएर प्रदेशमा समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारको उद्देश्य पूरा गर्न कर्मचारीले दबाब र प्रभावमा नपरी कार्य गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयो ।
प्रदेश योजना आयोगले वित्तीय अनुशासन कायम गरी बैंकको नीति पालना गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रदेशसभा सदस्यले रु २५ लाखभन्दा कमका योजना बजेटमा समावेश नगर्न अभिमुखीकरण कार्यक्रम गरिने प्रतिबद्धता मुख्यमन्त्री कार्कीको थियो ।
भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले केन्द्रमुखी र नेतामुखी योजना नराखी निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले किफायती रुपमा विकासका योजना सम्पन्न गर्न बैंक सहयोगी हुने चर्चा गर्दै बहुवर्षीय वा क्रमागत योजना चार वर्षमा सम्पन्न गर्नेगरी व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले आयोजना बैंकको कार्यविधि कार्यान्वयनमा आएको जानकारी दिँदै स्रोतलाई अधिकतम प्रयोग गरी सुशासन कायम गर्न सहयोग पुग्ने विचार राख्नुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बैंकमार्फत गरिने कार्यले विकासको लक्ष्य आम जनसमुदाय समक्ष पुग्ने विश्वास व्यक्त्त गर्नुभयो । आइटि विज्ञ डा गणेश गौतमले आयोजना वैंकको कार्यपत्र प्रस्तुत गर्दै आयोजनाको तथ्यपरक मूल्याङकन, नवीनतम् प्रविधिको प्रयोग, समयको बचत तथा प्रदेशको विकासको रणनीतिमा महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिनुभयो ।अभिमुखीकरणमा प्रदेशका सबै मन्त्रालयका सचिव, महाशाखाका निर्देशक लगायतका कर्मचारीको सहभागिता रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
