प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के–के छन् ?
काठमाडौँ, २ पुस : “न्यायालयमा जनआस्था घट्दै गएको छ भन्ने आम चिन्ता छ”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेललाई संसदीय सुनुवाइका क्रममा सांसद पदम गिरीले प्रश्न गर्नुभयो, “नेपालको न्यायालयमा जनआस्था वृद्धि गर्ने योजना के–के छन् ?”
सांसद गिरीको जस्तै सांसद देवेन्द्र दाहालको प्रश्न थियो, “न्यायालयप्रति आमजनताको विश्वास गुम्दै गएको छ, जनआस्था वृद्धि गर्न न्याय प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ ? जनआस्था वृद्धि गर्ने योजनाहरु के–के छन् ? सांसद ईश्वरी न्यौपानेको प्रश्न उस्तै थियो, “न्यायालयप्रति जनआस्था कसरी वृद्धि गर्न सकिन्छ ?” सांसद जीवन परियारको प्रश्न पनि “आम जनताले गुनासो नगरीकन न्याय कहिले पाउँछन् ?” भन्ने नै थियो ।
प्रस्तावित दुई न्यायाधीशको आज भएको संसदीय सुनुवाइमा अधिकांश सांसदले सार्वसाधरणको आस्था न्यायालयमा घट्दै गएको र कसरी वृद्धि गर्न सकिन्छ ? जनताको पहुँचमा न्याय पुग्न नसकेको, मुद्दा फछ्र्यौटको समयावधि लामो हुने गरेको, न्याय प्राप्तिमा ढिलाइ हुँदा पीडित अझ धेरै पीडामा पर्ने गरेको र अदालतले मुुलुकको विकास निर्माणमा रोक्दा मुलुकलाई ठूलो क्षति पुर्याउने गरेको विषयमा प्रश्न राख्नुभएको थियो ।
