`

‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उत्साह बोकेर एमालेका नेताहरु काठमाडौँ फर्कन थाले

Nepal One HD ३ पुष २०८० १८:२२
राजनीति

काठमाडौँ, ३ पुस : करिब ५० लाख जनतालाई प्रत्यक्ष यातायात सुविधा पु¥याउने लक्ष्यका साथ रेखाङ्कन भएको मध्यपहाडी (पुष्पलाल) राजमार्गमा ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उत्साह बोकेर नेकपा (एमाले) का नेताहरु काठमाडौँ फर्कन थालेका छन् ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरूप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकहरूसँग संवाद, विकास कार्यहरूको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरूको सङ्कलन गरिएको छ । नेपाली समाजलाई एकताको डोरीमा बाँधेर देशमा समृद्धि कायम गर्ने प्रयासमा यो एक उदाहरणीय राजनीतिक अभियान सावित भएको छ ।

महाभारत श्रृङ्खलाभन्दा माथि मध्यपहाडका २६ जिल्ला तथा दुई सय १५ बस्तीहरूलाई जोड्ने गरी बनाइएको सो राजमार्गबाट हुने सुविधाका कारण उक्त क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रगति हुनाका साथै सो क्षेत्रबाट हुने बसाईँसराईँ निरूत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने अपेक्षा गरिएको छ । यस राजमार्गको रेखाङ्नभित्र पर्ने विभिन्न जिल्लामा नेपाल सरकारका १० वटा आधुनिक शहरहरू विकास गर्ने लक्ष्यसमेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि भई रोजगारीका थप अवसरहरू सिर्जना हुने र सर्वसाधरण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा नेपाल सरकारले गरेको छ ।

यस राजमार्ग आसपास रहेका विभिन्न पर्यटकीय स्थलहरू समेत यातायात पूर्वाधारको अभावमा यथेष्ट प्रचार प्रसार एवं विकास हुन नसकेको परिप्रेक्षमा राजमार्गको निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुनेछ । राजमार्ग निर्माण सम्पन्न भएपछि विद्यमान आर्थिक सामाजिक सूचकमा उल्लेख्य रूपमा परिवर्तन हुने सङ्केत देखिएको हुँदा यो राजमार्ग एउटा रूपान्तकारी योजना हुनसक्ने अपेक्षाका साथ नेपाल सरकारले आब २०६९÷७० देखि यो आयोजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरी उच्च प्राथमिकतामा राखेको छ ।

मध्यपहाडी क्षेत्रमा विकास र समृद्धिको आधारशीला तय गर्न मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित एमालेको सङ्कल्प यात्रा नागरिक र कार्यकर्ताको उत्साहजनक सहभागिताको कारण यात्रा ठीक समयमा गरिएको ठीक निर्णय प्रमाणित भएको विश्लेषण एमालेको शीर्ष नेतृत्वले गरेको छ । एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गत मङ्सिर १४ गते राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा यही पुस १ गते पाँचथरको चिओभञ्ज्याङ्गमा पुगेर समापन भएको थियो ।


प्रतिक्रिया