`

रुसी प्रधानमन्त्रीद्वारा चीन सम्बन्धमा ‘सर्वकालीन उचाइ’ को प्रशंसा

Nepal One HD ४ पुष २०८० ७:१२
विश्व

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मङ्गलबार चीनसँगको आफ्नो मुलुकको सम्बन्धको प्रशंसा गर्नुभएको छ । उहाँले चीनको राजधानी बेइजिङको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धमा ‘सर्वकालीन उचाइ’ को घोषणा गर्नुभयो । चीन र रुसले हालैका वर्षहरूमा आर्थिक र कूटनीतिक सहयोगलाई बढाएका छन् ।

मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि दुवै मुलुकबीचको सम्बन्ध घनिष्ठ भएको छ । यद्यपि बेइजिङ उक्त युद्धमा तटस्थ रहेको छ । चिनियाँ सरकारी प्रसारक सिसिटिभी र क्रेमलिनका अनुसार प्रधानमन्त्री मिशुस्टिनले आफ्ना चिनियाँ समकक्षी ली कियाङसँग भन्नुभयो, “रुस–चीन सम्बन्ध अहिलेसम्मकै उच्चतम स्तरमा छ ।”

“राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति भ्लादिमिर पुटिनको रणनीतिक निर्देशनमा चीन–रुस सम्बन्ध उच्चस्तरमा सञ्चालन भइरहेको छ”, सिसिटिभीका अनुसार चिनियाँ प्रधानमन्त्री लीले मिशुस्टिनसँग भन्नुभयो, “अनन्तकालसम्म चल्ने मित्रतालाई अगाडि बढाउन तथा विश्वमा थप स्थिरता र सकारात्मक ऊर्जा ल्याउन प्रयास गर्नेछौँ ।” रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सीलाई भेट्न रुसबाहिर एउटा दुर्लभ भ्रमण गर्नुभएको र मस्कोमा वरिष्ठ चिनियाँ जनरललाई आतिथ्यता प्रदान गरिएपछि मिशुस्टिन मङ्गलबार र बुधबार चीनको भ्रमणमा हुनुहुन्छ ।


प्रतिक्रिया