गण्डकी प्रदेशमा ‘एक घर, एक धारा’ कार्यक्रम लागू
गोरखा, ११ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा ‘एक घर, एक धारा’ कार्यक्रम लागू भइरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोटमा आज बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उहाँले प्रदेश सरकारका तर्फबाट प्रदेशभित्रका सबै जिल्लामा एक घर एक धारा कार्यक्रम लागू गरिएको बताउनुभयो । “एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिएर गण्डकी प्रदेशका प्रत्येक जनताको घरमा धारा पुर्याउन प्रतिबद्ध छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले जनताको जीवनस्तर उकास्न र विकास र समृद्धिका लागि तिनवटै तहका सरकारबीचको समन्वयबाट मात्र सम्भव रहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले विकास निर्माण योजना ठेकेदारले समयमा सम्पन्न गर्न नसक्दा जनप्रतिनिधिले जनताको आलोचना खेप्नुपरेको भन्दै सबै तहको सरकार मिलेर आयोजना समयमा काम सम्पन्न गर्ने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । “प्रदेश सरकार, सङ्घ सरकार र गाउँपालिकाले बजेट बिनियोजन गर्दछ, तर, ठेकेदारले समयमा काम नसक्दा नागरिकले जनप्रतिधिलाई गाली गर्ने बाटो बनेको छ”, उहाँले भन्नुभयो, “तर त्यस्तो कामलाई बन्दगर्नेतर्फ सबै तहको सरकार लाग्नुपर्छ ।”
मुख्यमन्त्री पाण्डेले निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक वडामा हिउँद र बर्खा बाह्रै महिना चल्न सक्ने बाटो निर्माण गर्ने प्रतिबद्धता गरेको भन्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न लागि परेको बताउनुभयो । बारपाक सुलिकोट गाउँपालिकाको राङरुङ खोला, माछीपोखरी हुँदै जाने सडक लागि समानीकरणमा रु एक करोड ६० लाखको काम भइरहेको जानकारी दिनुभयो ।
