रुसी अदालतद्वारा नभाल्नीका सहयोगी फादेयेभालाई नौ वर्षको कारागार सजाय
रुसको एक अदालतले शुक्रबार साइबेरियाली सहर टम्स्कमा कारागारमा रहनुभएका विपक्षी नेता एलेक्सी नभाल्नीको प्रतिबन्धित सङ्गठनको नेतृत्व गर्ने केसेनिया फादेयेभालाई करिब एक दशकको कारागार सजाय सुनाएका उहाँका समर्थकहरूले बताएका छन् ।
यो रुसका विरोधविरुद्ध कडा सजायहरूको शृङ्खलामा नवीनतम कदम हो । सन् २०२२ मा क्रेमलिनले युक्रेनमा सैन्य कारवाही सुरु गरेपछि नागरिक समाजको दमनलाई दोब्बर पारेको छ । उहाँका समर्थकहरूको टेलिग्राम च्यानलले भनेको छ, “न्यायाधीश खुद्याकोभले चरमपन्थीको आरोपमा केसेनिया फादेयेभाविरुद्ध नौ वर्षको सजायको आदेश दिएका छन् ।” उनीहरूले प्रतिरक्षाका लागि पुनरावेदन गरिने बताएका छन् ।
वकिल तथा समर्थकहरूले उक्त मुद्दाको निन्दा गर्दै देखावटी भनेका छन् । “यो मुद्दामा जे भएको छ त्यसको न्यायसँग कुनै लिनुदिनु छैन”, वचाउ पक्षलाई ‘धम्काइएको’ भन्दै वकिल सिमान भोदनेभले एसओटिए मिडियाद्वारा पोस्ट गरिएको भिडियोमा भन्नुभयो ।
उहाँले फैसलालाई ‘गैरकानूनी, निराधार र अनुचित’ भन्दै भन्नुभयो, “मैले पनि मनको कुरा भन्नबाट बच्नुपर्छ अन्यथा म स्वयंलाई केसेनियाको जस्तै इजालसमा पाउनेछु ।”
एकतीस वर्षीया फादेयेभाले टम्स्कमा नभाल्नीको राजनीतिक कार्यालयको नेतृत्व गर्नुहुन्थ्यो । सन् २०२० अगस्टमा निर्वाचनअघि विपक्षी नेता नभाल्नीलाई विष दिइएको थियो । फादेयेभा सन् २०२० मा टम्स्क सहरको विधायिकामा निर्वाचित हुनुभएको थियो । उहाँको विजयलाई राष्ट्रपति भ्लादिमिर पुटिनको शासनविरुद्ध रुसी विपक्षीको जीतका रूपमा हेरिएको छ ।
यद्यपि अधिकारीहरूले सन् २०२१ मा समूहलाई ‘चरमपन्थी सङ्गठन’ भनेका छन् । यसबाट उक्त समूहका सदस्य तथा समर्थकमाथि मुद्दा चलाउने मार्ग प्रशस्त गरेको छ । नभाल्नीका धेरै सहयोगीहरूले समूह छाडे तर फादेयेभाले भाग्न अस्वीकार गर्नुभयो र सन् २०२१ डिसेम्बरमा ‘चरमपन्थी’ समूहलाई सङ्गठित गरेको आरोपमा उहाँलाई हिरासतमा लिइयो ।
भ्रष्टाचारविरोधी फाउन्डेसनले फैसलाप्रति प्रतिक्रिया दिँदै भनेको छ, “केसेनियाले कुनै अपराध गर्नुभएको छैन, उहाँ साहसी राजनीतिज्ञ हुनुहुन्छ, उहाँ पुटिनको भ्रष्ट शासनविरुद्ध लडिरहनुभएको छ ।”मस्कोले ‘आतङ्कवादी’ तथा ‘चरमपन्थी’ निकायहरूसम्बन्धी कानूनको प्रयोग आलोचकहरूलाई वर्षौंको कारागार सजाय दिन गरेको छ । यसमा स्वयं नभाल्नी पनि पर्नुभएको छ । जर्मनीबाट फर्किएपछि ठगीको आरोपमा सन् २०२१ मा कारागार जानुअघि नभाल्नीले विशाल राष्ट्रव्यापी विरोध प्रदर्शन गर्नुभएको थियो । जर्मनीमा उहाँले विषाक्त आक्रमणको उपचार गराउनुभएको थियो । सन् २०२३ मा चरमपन्थीको आरोपमा उहाँको सजायलाई १९ वर्षसम्म बढाइएको छ । हालै उहाँलाई रुसको आर्कटिकमा एउटा पेनल कोलोनीमा स्थानान्तरण गरिएको छ ।
