`

नेतान्याहुद्वारा गाजा युद्धमा इजराइलको अद्वितीय ‘नैतिकता’ को बचाउ

Nepal One HD १५ पुष २०८० १८:४२
विश्व

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइलले गाजा युद्धमा अद्वितीय ‘नैतिकता’ प्रदर्शन गरेको आइतबार बताउनुभएको छ । प्यालेस्टिनी क्षेत्रमा ‘नरसंहार’ कृत्य गरिरहेको भन्ने दक्षिण अफ्रिकाको आरोपलाई अस्वीकार गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

तेलअविवमा क्याबिनेट बैठकमा उहाँले भन्नुभयो, “हामी आफ्नो रक्षात्मक युद्ध जारी राख्नेछाँै, जसको न्याय र नैतिकता अद्वितीय छ ।” उहाँको उक्त टिप्पणी दक्षिण अफ्रिकाले शुक्रबार अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा इजराइलविरुद्ध गाजामा ‘नरसंहार’ कृत्य गरेको भन्दै मुद्दा दायर गरेपछि आएको हो ।

“होइन, दक्षिण अफ्रिका, नरसंहार गर्न हामी आएका होइनौँ, यो हमास हो”, नेतान्याहुले भन्नुभयो, “सम्भव भयो भने हमासले हामी सबैको हत्या गर्नेछ, यसको विपरीत आइडिएफ (इजराइली सेना) ले सकेसम्म नैतिकरूपमा काम गरिरहेको छ ।”

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले दक्षिणी इजराइलमा अभूतपूर्व हमला गरेपछि इजराइलले गाजापट्टीमा हमासविरुद्ध लगातार सैन्य कारबाही सञ्चालन गरेको छ । इजराइली आँकडामा आधारित एएफपीको रिपोर्टअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ४० जनाको ज्यान गएको छ ।

हमास शासित गाजामा स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित २१ हजार आठसयभन्दा बढीको ज्यान गएको छ ।


प्रतिक्रिया