प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड
बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियनले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तीनै तहका सरकारको अधिकार बाडफाँड भए पनि कार्यान्वयन फितलो भएको बताउनुभयो ।
मुख्यमन्त्री शाहले सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय तहका आ–आफ्नै अधिकार भए पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले अब त्यो पूर्णरुपमा कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका सरकारका एकल र साझा अधिकार छन्, तिनीहरुको पूर्ण रुपमा कार्यान्व्यन हुनु आवश्यक छ ।”
मुख्यमन्त्री शाहले प्रदेश गौरवका योजनामा बजेटको अभाव नहुने बताउनुभयो । प्रदेशले प्राथमिकतामा राखेर निर्माण गरिरहेका योजनामा बजेटको अभाव नहुने उहाँले दाबी गर्नुभयो ।
मुख्यमन्त्री शाहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण प्रक्रिया अघि बढिसकेकाले यसमा शङ्का नरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल–भारत सीमानाका झुलाघाटलगायत दार्चुला र डडेल्धुरामा महाकाली नदीमाथि पुल निर्माण प्रक्रिया पनि अगाडि बढेको जानकारी दिनुभयो ।
