इराकी संसद् नयाँ सभामुख चयन गर्न असफल


इराकी संसद् नयाँ सभामुख चयन गर्न असफल भएको छ । संसदीय राजनीतिक ब्लकहरू बीचको राजनीतिक झगडाका कारण बर्खास्त गरिएका सभामुख मोहम्मद अल–हलबोसीको स्थानमा नयाँ सभामुख चयन गर्न संसद् आइतबार पनि असफल भएको छ।
संसद्को उपसभामुख मोहसेन अल–मंडालवीको अध्यक्षतामा शनिबार दिउँसो शुरु भएको संसद् अधिवेशनमा संसद्का ३२९ सिटमध्ये ३१४ सांसद्को उपस्थिति रहेको थियो । अधिवेशन आइतबार बिहानसम्म चलेको थियो।
सत्रका क्रममा, अल–मंडालवीले आफूले सभामुख पदका लागि पाँच सांसद्हरूबाट मनोनयन प्राप्त गरेको दाबी गर्नु भएको थियो । प्रत्यक्ष गोप्य मतदानपछि शालन अल–करिमले १५२ मत प्राप्त गर्नु भएको, सलिम अल–इसावीले ९७ मत र पूर्व सभामुख महमूद अल–मशदानीले ४८ मत पाएको घोषणा गरिएको थियो।
इराकी कानून अनुसार यदि सभामुख पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी अथवा १६६ मतको पूर्ण बहुमत प्राप्त गर्न असफल भएमा अर्को चरणको प्रत्यक्ष गोप्य मतदान गर्नुपर्ने प्रावधान छ ।
गत नोभेम्बर १४ मा इराकी संघीय अदालतले कानूनको उल्लङ्घन गरेको भन्दै संसद्का सभामुख मोहम्मद अल–हलबोसीलाई हटाएको थियो । नयाँ सभामुख चयनका लागि सहमति जुट्न सकेको छैन भने प्रतिस्पर्थी उमेद्वारले आवश्यक मत प्राप्त गर्न सकेका छैनन् ।