पाकिस्तानमा ‘इरानी आतङ्कवादी समूह’ लाई निशाना बनाएको इरानको भनाइ


इरानका शीर्ष कूटनीतिज्ञले बुधबार आफ्नो मुलुकका सशस्त्र बलहरूले एक दिनअघि पाकिस्तानमा एउटा ‘इरानी आतङ्कवादी समूह’ लाई निशाना बनाएको बताउनुभएको छ । उक्त आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको इस्लामाबादले बताएको छ ।
“मित्र र भ्रातृ राष्ट्र पाकिस्तानका कुनै पनि नागरिकलाई इरानी क्षेप्यास्त्र र ड्रोनले निशाना बनाएको छैन”, स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चका अवसरमा इरानी विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले भन्नुभयो, “कथित इरानी आतङ्कवादी समूह जैश अल–अदल समूहलाई निशाना बनाइएको हो ।”
तेहरानले इराक र सिरियामा ‘इरानविरोधी आतङ्कवादी समूहहरू’ विरुद्ध आक्रमण गरेपछि मङ्गलबार पाकिस्तानमा उक्त आक्रमण भएको हो । पाकिस्तानले दुई मुलुकका साझा सीमा नजिकै भएको आक्रमणको निन्दा गर्दै इरानबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ र तेहरानका राजदूतलाई इस्लामाबाद फर्कन रोक लगाएको छ ।
आक्रमणको केही घन्टाअघि पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अनवर–उल हक काकरले डाभोस फोरमका अवसरमा इरानी विदेशमन्त्री अमिर–अब्दुल्लाहियानसँग भेट गर्नुभएको थियो । अमिर–अब्दुल्लाहियानले भन्नुभयो, “‘पाकिस्तानी भूमि’ मा इरानको आक्रमण जैश अल–अदल समूहको इस्लामिक गणतन्त्र इरानमाथि हालै भएको घातक हमला विशेषगरी सिस्तान–बलुचिस्तानको दक्षिणर्पूी प्रान्त रस्क सहरमा भएको हमलाको जवाफ थियो ।”
जनवरी १० मा सहरको प्रहरी चौकीमा भएको आक्रमणमा एक प्रहरीको मृत्यु भएको थियो । त्यसको करिब एक महिनापछि यस क्षेत्रमा त्यस्तै प्रकारको आक्रमणमा ११ प्रहरी मारिएका थिए । दुवै आक्रमणको जिम्मेबारी जैश अल–अदल (न्यायको सेना) ले लिएको थियो । सन् २०१२ मा गठन भएको जैश अल–अदल सुन्नी मुस्लिम चरमपन्थी समूह हो जसलाई इरानले ‘आतङ्कवादी’ समूहका रूपमा कालो सूचीमा राखेको छ ।
“उक्त समूहले पाकिस्तानको बलुचिस्तान प्रान्तका केही भागमा आश्रय लिएको छ”, विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले भन्नुभयो, “हामीले यस मामिलामा धेरै पटक पाकिस्तानी अधिकारीहरूसँग कुराकानी गरेका छौँ ।”उहाँले इरानले पाकिस्तानको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तर ‘मुलुकको राष्ट्रिय सुरक्षासँग सम्झौता वा खेलबाड हुन नदिने’ बताउनुभयो ।