`

‘समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी’: झलनाथ खनाल

Nepal One HD ५ माघ २०८० २०:५३
राजनीति

काठमाडौँ, ५ माघ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री ले समाजमा विधमान वर्गीय शोषणको अन्त्य गरी जनताको आर्थिक रुपान्तरण गर्न सकिने बताउनुभएको छ ।

पार्टी केन्द्रीय स्कुल विभागले आज आयोजना गरेको प्रशिक्षणका अवसरमा उहाँले समाजिक अन्तरविरोधको न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलन, विगत, वर्तमान र भविष्य विषयमा प्रशिक्षण दिँदै नेता खनालले समाजलाई बदल्न राजनीतिक अन्तरविरोध किटान गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

वर्गीय अन्तरविरोधको समाधानका लागि समाजवादी क्रान्तिको खाँचो औँल्याउँदै उहाँले भौतिकवादी दृष्टिकोण, वर्ग अडान, विश्लेषण गर्ने वैज्ञानिक पद्धतिका आधारमा सामाजिक अन्तरविरोध छुट्टाउन नसके आन्दोलन कमजोर हुने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले वामपन्थी नेतृत्वको सरकारले मुलुकमा गरिबी निवारणका लागि उद्यमशीलताको विकास गरी आर्थिक समृद्धिका लागि कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले गाँउसम्म फैलिएको, आर्थिक, वर्गीय, लैङ्गिक शोषण अन्त्य गरेको उहाँको भनाइ थियो ।

समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उहाँले भन्नुभयो, “यसका माध्यमबाट मुलुकमा सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न सकिन्छ, जनतालाई सुखी र खुसी बनाउन सकिन्छ ।” पार्टीले तर्जुमा गरेको नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्याउने विषयलाई प्राथमिकतामा राखिएको उहाँले प्रष्ट पार्नुभयो ।


प्रतिक्रिया