`

इजरायली सेनाले खान युनिसको नियन्त्रणलाई बलियो बनाउँदै

Nepal One HD १४ माघ २०८० ७:२७
विश्व

इजरायली सैनिकहरूले खान युनिसमाथि आफ्नो परिचालन नियन्त्रणलाई बलियो बनाउँदै लगेको इजरायली रक्षा बलले बिहीबार बताएको छ । खान युनिस गाजाको दोस्रो ठूलो शहर हो र यसलाई हमास नेता याह्या सिनवारको व्यक्तिगत गढ पनि मानिन्छ । उनको परिवार त्यहाँ बस्ने गरेको अनुमान छ।

ओज ब्रिगेडका सिपाहीहरू, जसलाई “कमान्डो ब्रिगेड” भनेर पनि चिनिन्छ उनीहरूले शहरी युद्धमा विशेषज्ञ, स्नाइपर फायर, सटीक मिसाइलहरू र ट्याङ्क फायर प्रयोग गरेर थुप्रै आतङ्ककारी टोलीहरूलाई नष्ट गरेको दाबी गरिएको छ । साथै अन्य चार आतङ्ककारीहरू नजिकको लडाइँमा मारिएको बताइएको छ।

एउटा विशेष अपरेशनमा स्नाइपरहरूले थुप्रै आतङ्ककारीहरूलाई तिनीहरूको सुरुङबाट झुक्याएर मारेको बुझिएको छ ।ओज ब्रिगेडका अन्य एकाइका सिपाहीहरूले हमासको कमाण्ड र नियन्त्रण केन्द्रमा छापा मारेको र उनीहरूले ठूलो मात्रामा गोला बारूद, हतियार, रणनीतिक रेडियो, रात्रि दृष्टि उपकरण, नक्सा र महत्त्वपूर्ण खुफिया सामग्रीहरू राखेको पाइएको छ। प्यालेस्टिनी इस्लामिक जिहादको खुफिया कमाण्डरको छुट्टै कमाण्ड र नियन्त्रण केन्द्रमा पनि छापा मारिएको र थप हतियारहरू फेला परेको सेनाले जनाएको छ ।

गत अक्टोबर ७ मा गाजा सीमा नजिक इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तिमा १ हजार २०० व्यक्तिको मृत्यु भएको थियो। गाजामा हमासले बन्दी बनाएर राखेका पुरुष, महिला, बालबालिका र सैनिकहरूको सङ्ख्या अहिले १३६ रहेको विश्वास गरिन्छ।


प्रतिक्रिया