परिणाम दिनेगरी काम गर्न नेपाल वायुसेवा निगम नेतृत्वलाई पर्यटनमन्त्रीको निर्देशन
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले परिणाम दिनेगरी काम गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नेतृत्वलाई निर्देशन दिनुभएको छ ।निगमको विद्यमान अवस्थालाई सुधारेर नतिजा निकाल्न निगम व्यवस्थापनलाई पटक–पटक निर्देशन दिइए पनि परिणाम नआएको जनाउँदै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको ध्यानाकर्षण गराउनुभएको हो ।
सन् २०१२ बाट ‘ग्राउन्डेड ट्विनअटर’ जहान बनाउन पर्यटनमन्त्री किरातीले निर्देशन दिएको करिब ६ महिना भए पनि नतिजा आउन नसकेको जनाइएको छ । कानुनी प्रक्रिया पूरा भएको दुई महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्षले मन्त्री किरातीलाई आश्वासन दिनुभएको थियो ।मन्त्री किरातीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्री किरातीले सञ्चारमाध्यममा हाल सञ्चालनमा रहेको दुई र नयाँ खरिद गरिने तीन जहाजसँगै ग्राउन्डेड जहाज बनाएर ६ थान जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आउनुभएको थियो । तर ग्राउन्डेड जहाज नबनेपछि आज पर्यटनमन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको जहाज मर्मतस्थलमा अनुगमनका लागि पुग्नुभएको थियो । जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाएपछि कडारुपम प्रस्तुत हुनुभएको थियो । “जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो”, पर्यटनमन्त्री किरातीले भन्नुभयो, “जहाज कहिलेसम्म बनि सक्छ ? यसको उत्तर चाहियो ? पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ?”मन्त्री किरातीले आफूलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेको र प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिनुभएको जनाउँदै निगम नेतृत्वबाट परिणाम नदिने हो भनी नेतृत्वमा किन बसिरहनुपर्ने भनी प्रश्न गर्नुभयो ।पर्यटनमन्त्रीका अनुसार निगम बोर्ड बैठकबाट करिब २० करोडसम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तर हालसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेको उहाँको भनाइ छ । मन्त्री किरातीले प्रत्येक हप्ता आफू निरीक्षणमा आउने र कार्ययोजनाअनुसार काम गरेर प्रगति विवरण आफूलाई पेस गर्न निगमलाई निर्देशन दिनुभयो ।–––
